बाढीपीडितका लागि सिन्धुपाल्चोकका स्थानीय तहदेखि संघसंस्थासम्मको सहयोग

* # समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिन्धुपाल्चोकका स्थानीय तह, नागरिक समाज, व्यवसायी तथा विभिन्न संघसंस्थाले सहयोग अघि बढाएका छन्।

मेलम्ची नगरपालिकाले आफ्ना जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारीलगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको तीन दिन बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो। विपद्को कठिन समयमा प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले नगरपालिकाले यस्तो निर्णय गरेको हो।

इन्द्रावती गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक तथा विद्यालय कर्मचारीले समेत एक दिनको पारिश्रमिक बराबरको रकम राहत कोषमा सहयोग गर्ने निर्णय भएको छ। गाउँपालिकाले बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै बेपत्ता नागरिकको खोजी र उद्धारलाई तीव्रता दिन आग्रह गरेको छ।

बलेफी गाउँपालिकाले पनि भोटेकोशी बाढीमा परी मृत्यु भएका तथा सम्पर्कविहीन भएका ३४ जना स्थायी बासिन्दाका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले स्थानीय विपद् कोषमा रहेको ४० लाख रुपैयाँमध्येबाट राहत उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष गंगाबहादुर तामाङले जानकारी दिनुभयो। प्रभावित परिवारका बालबालिकाको शिक्षाका लागि समेत सहयोग गर्ने निर्णय भएको छ।

त्यस्तै, त्रिपुरासुन्दरी गाउँपालिकाले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। जनप्रतिनिधिको १५ दिन बराबरको सेवा सुविधा तथा गाउँपालिका र मातहतका कार्यालय, स्वास्थ्य तथा शैक्षिक संस्थामा कार्यरत शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीको भदौ महिनाको पारिश्रमिकबाट तहअनुसार तीनदेखि १० दिनसम्मको रकम कट्टा गरी कोषमा जम्मा गरिने भएको छ। गाउँपालिकाले बाढी प्रभावित क्षेत्रमा कामको सिलसिलामा पुगेका आफ्ना ६ जना नागरिक अझै सम्पर्कविहीन रहेको जनाएको छ।

भोटेकोशी गाउँपालिकाले बाढीमा बेपत्ता भएका ७३ परिवार र एक मृतकका परिवारलाई प्रतिपरिवार दुई लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ। प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि आवश्यकताअनुसार हेलिकोप्टरलगायत हवाई साधन प्रयोग गर्ने तथा खाद्यान्न र अत्यावश्यक सामग्री उपलब्ध गराउने तयारी गरिएको छ।

मेलम्चीवासीले पनि स्वेच्छिक रूपमा एक लाख चार हजार १६५ रुपैयाँ संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन्। आफूहरूले विगतमा विपद्को पीडा भोगेकाले प्रभावित नागरिकको दुःखमा साथ दिन सहयोग गरिएको बताइएको छ।

सिन्धुपाल्चोक निर्माण व्यवसायी संघले पनि निर्माण व्यवसायी, व्यक्ति तथा विभिन्न संघसंस्थाबाट सहयोग रकम संकलन गरी प्रधानमन्त्री राहत कोषमा एकमुष्ट जम्मा गर्ने निर्णय गरेको छ। संघका अध्यक्ष सगुन श्रेष्ठसहित व्यवसायीहरूले सहयोगको सुरुवात गरिसकेका छन्।

प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपाल (NRCTC-Nepal) ले पनि रसुवाका बाढी प्रभावित परिवारका लागि राहत सामग्री उपलब्ध गराएको छ। संस्थाले पोलार ब्लाङ्केट, खाने तेल, नुन, चिउरा, दालमोठ, साबुन, मञ्जन, ब्रस तथा EPE फोमलगायत खाद्यान्न र दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको जनाएको छ।

यसैबीच, मेलम्ची नगरपालिका–८ का बसन्त गिरी र हर्क तामाङ बाढीपछि बेपत्ता भएपछि क्यौरानी युवा समाजले दुवै परिवारलाई २० हजार रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ। समाजले सम्बन्धित निकायलाई खोजी तथा उद्धार कार्य थप प्रभावकारी बनाउन आग्रह गरेको छ।

भोटेकोशी बाढीबाट रसुवासहित नुवाकोट, धादिङ तथा नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा स्थानीय तहदेखि सामाजिक संस्था र सर्वसाधारणसम्मले देखाएको सहयोगले विपद्मा मानवीय एकता र ऐक्यबद्धताको सन्देश दिएको छ।

२३९ जना अझै सम्पर्कविहीन

बाढीमा परी सिन्धुपाल्चोकका २३९ जना अझै सम्पर्कविहीन रहेका छन्। प्राप्त विवरणअनुसार बाढीपछि ८ जना सम्पर्कमा आए पनि उनीहरूको उद्धार हुन बाँकी छ। यस्तै, ९६ जनाको उद्धार भइसकेको जनाइएको छ।

बाढीका कारण सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहका नागरिक प्रभावित भएका छन्। सम्पर्कविहीन नागरिकको खोजी तथा उद्धारका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले समन्वयमा काम गरिरहेका छन्।

बेपत्ता नागरिकका परिवारजनले तत्काल खोजी तथा उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन्।

Leave a Reply