मेलम्ची । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतमा सहयोग पुर्याउन मेलम्ची नगरपालिकाले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीको तीन दिन बराबरको तलब सहयोग गर्ने भएको छ।
मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङका अनुसार जनप्रतिनिधि, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, विद्यालय कर्मचारीलगायत नगरपालिकासँग सम्बन्धित कर्मचारीको तीन दिनको तलब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवासहित नुवाकोट, धादिङलगायत नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले समेत सहयोगको अपिल गरिरहेको छ।
विपद्को कठिन समयमा प्रभावित परिवारलाई राहत पुर्याउने उद्देश्यले नगरपालिकासँग सम्बन्धित सबै कर्मचारीको तलबबाट सहयोग गर्ने निर्णय गरिएको नगर प्रमुख तामाङले बताउनुभयो। उहाँका अनुसार स्थानीय तहको तर्फबाट विपद् प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत अभियानमा योगदान पुर्याउन यो निर्णय गरिएको हो।
