मेलम्चीमा विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरणसम्बन्धी तीनदिने तालिम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची, सिन्धुपाल्चोक

विद्यालयमा हुनसक्ने विपद्का जोखिम न्यूनीकरण, पूर्वतयारी तथा विपद्का समयमा खोज तथा उद्धार र प्राथमिक उपचारसम्बन्धी तीनदिने विद्यालयमा आधारित विपद् जोखिम न्यूनीकरण तालिम मेलम्चीमा सम्पन्न भएको छ।

भदौ ३ देखि ५ गतेसम्म मेलम्चीमा सञ्चालन भएको तालिमलाई UCAR र संयुक्त राज्य अमेरिकाले सहयोग तथा RIMES र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा मेलम्ची नगरपालिकाले समन्वय गरेको थियो।

तालिममा भोजराज घिमिरे, दिवाकर पौडेल, प्रकाश कार्की र निशा मगरले प्रशिक्षण दिनुभएको थियो । तालिममा विपद् भनेको के हो, विपद्का प्रकार, विद्यालयमा हुनसक्ने सम्भावित जोखिम, विपद् पूर्वतयारी, विपद्का समयमा अपनाउनुपर्ने सुरक्षा उपाय, खोज तथा उद्धार, प्राथमिक उपचार तथा विपद्पछिको व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो।

पहिलो र दोस्रो दिन सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो भने तेस्रो दिन विभिन्न विपद्का घटनामा अपनाउनुपर्ने उद्धार विधिको प्रयोगात्मक अभ्यास गराइएको थियो। सहभागीलाई घाइतेको अवस्था पहिचान गरी प्राथमिकता निर्धारण गर्ने, आकस्मिक उद्धार गर्ने, स्ट्रेचरमार्फत घाइतेलाई सुरक्षित स्थानमा लैजाने तथा प्राथमिक उपचार गर्ने विधि सिकाइएको थियो। साथै विद्यालयस्तरीय विपद् व्यवस्थापन कार्ययोजना र विद्यालय सुरक्षा कार्ययोजना निर्माण गर्नेसम्बन्धी अभ्याससमेत गराइएको थियो।

समापन कार्यक्रममा मेलम्ची नगरपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक पासाङ तामाङको अध्यक्षता रहेको थियो। कार्यक्रममा RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्य र RIMES थाइल्यान्ड कार्यालयका अमित प्रसाद नायकको समेत सहभागिता थियो।

समापन कार्यक्रममा संयोजक तामाङले तालिमबाट सिकेका ज्ञान तथा सीपलाई व्यवहारमा लागू गर्न प्रशिक्षार्थीलाई आग्रह गर्दै समुदायमा विपद्जन्य घटना हुँदा उद्धार तथा सहयोगमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद रिजालले विद्यालयमा विपद् जोखिम न्यूनीकरणसम्बन्धी व्यावहारिक तालिम आवश्यक रहेको बताउनुभयो। । तालिमले विद्यालयमा विपद् आइपर्दा तत्काल गर्नुपर्ने कामबारे शिक्षकलाई सक्षम बनाएको भन्दै उहाँले तालिमप्राप्त शिक्षकले विद्यालयको विपद् फोकल पर्सनका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्यले तालिममा प्रशिक्षार्थीको उत्साहजनक सहभागिता रहेको बताउँदै कार्यक्रम सञ्चालनमा सहयोग र समन्वय गरेकोमा मेलम्ची नगरपालिकालाई धन्यवाद दिनुभयो।

प्रशिक्षार्थी शम्भुप्रसाद चौलागाईंले विद्यालयमा विपद् व्यवस्थापन, प्राथमिक उपचार, खोज तथा उद्धार, घाइतेको प्राथमिकता निर्धारण तथा अस्पतालसम्म लैजाने विधिका साथै भूकम्प, आगलागी र बाढीको पूर्वतयारी, विपद्का समयमा बच्ने उपाय तथा विपद्पछिको उद्धारबारे महत्वपूर्ण ज्ञान हासिल भएको बताउनुभयो।

त्यस्तै, उत्सव श्रेष्ठले विद्यालयमा विपद् आउँदा विद्यार्थीलाई सुरक्षित रूपमा उद्धार गर्ने तथा आफू सुरक्षित हुँदै समुदायमा सिकेका कुरा पुर्‍याउने ज्ञान प्राप्त भएको बताउनुभयो । अर्का सहभागी साधुराम नेपालले विपद् जोखिम न्यूनीकरणका साथै तत्कालीन उद्धार र विद्यालय तथा समुदायमा विपद् व्यवस्थापन गर्ने व्यावहारिक ज्ञान प्राप्त भएको बताउनुभयो।

RIMES ले नेपालसहित दक्षिण एसियाका बंगलादेश, पाकिस्तान र श्रीलंकालगायत अफ्रिकी तथा अन्य क्षेत्रमा समेत विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ।

समापन कार्यक्रमको सञ्चालन मेलम्ची नगरपालिकाको विपद् शाखा प्रमुख सबुना गमालले गरेकी थिइन्। तालिम सम्पन्न भएपछि सहभागी प्रशिक्षार्थीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।

Leave a Reply