मेलम्ची । मेलम्ची नगरपालिकामा विपद् पूर्वसूचना तथा निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन ‘इन्स्ट्यान्ट पोर्टल’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।
RIMES को सहकार्य तथा USAID/अमेरिकी सहयोगमा आयोजित कार्यशालामा नगर प्रमुख आइतमान तामाङको अध्यक्षता रहेको थियो। कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि, वडा अध्यक्ष तथा पत्रकारहरूको सहभागिता थियो।
RIMES नेपाल कार्यक्रम प्रमुख पूजा शाक्यले इन्स्ट्यान्ट पोर्टलको उद्देश्य, संरचना र प्रयोगबारे जानकारी दिँदै मौसम, जलवायु, जलविज्ञान तथा विपद्सम्बन्धी तथ्याङ्कलाई एकीकृत विश्लेषण गरी निर्णय लिन सहयोग गर्ने डिजिटल प्रणाली ‘Decision Support System’ भएको बताउनुभयाे।
पोर्टलले Numerical Weather Prediction (NWP) मोडलमार्फत दुई सातासम्मको मौसम पूर्वानुमान उपलब्ध गराउने र दिनमा चार पटक पूर्वानुमान अद्यावधिक गर्ने जानकारी दिइयो।
सफ्टवेयर डेभलपर अनुप अधिकारीले पोर्टलको प्रयोगबारे सहभागीलाई व्यावहारिक प्रशिक्षण दिएका थिए।
नगर प्रमुख तामाङले विपद् व्यवस्थापनमा कार्यक्रम उपयोगी रहेको भन्दै निरन्तरता दिने बताए। उपप्रमुख प्रधानले मेलम्चीमा विपद्को जोखिम उच्च रहेकाले पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयाे।
कार्यशालाले विपद् जोखिम न्यूनीकरण, सूचना साझेदारी, समन्वय तथा तथ्यमा आधारित निर्णय प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
