नवलपुर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा जलवायु परिवर्तन र बसाइँसराइले पारिरहेको प्रभाव तथा त्यसको अनुकूलनका उपायबारे दुई दिने परामर्श कार्यशाला सम्पन्न भएको छ।
सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्च नेपाल (CDECF Nepal) को आयोजनामा तथा ICIMOD लगायतका संस्थाको सहयोग र गाउँपालिकासँगको समन्वयमा कार्यशाला आयोजना गरिएको हो। ‘Successful Intervention Pathways for Migration as Adaptation (SUCCESS)’ परियोजनाअन्तर्गत सञ्चालन गरिएको कार्यशालामा जलवायु परिवर्तन, अनुकूलन, बसाइँसराइ र दीर्घकालीन रणनीति निर्माणका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, पालिका सदस्य तथा वडाध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखा प्रमुख, रोजगार तथा पञ्जीकरण शाखा प्रमुख, कृषि तथा पशु शाखाका प्रतिनिधि, ICIMOD/KU/NIDS का प्रतिनिधिलगायत ३५ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ११ जना महिला र २४ जना पुरुष थिए। दलित ५, जनजाति १६ तथा अपाङ्गता भएका एक जना सहभागी थिए।
कार्यशालामा ‘फोरसाइट’ दृष्टिकोण प्रयोग गरी जलवायु परिवर्तनका चुनौती, सम्भावित प्रभाव, अनुकूलनका अवसर तथा बसाइँसराइले पार्ने सकारात्मक र नकारात्मक प्रभावबारे समूहगत छलफल गरिएको थियो। सहभागीलाई विभिन्न समूहमा विभाजन गरी इन्द्रावती गाउँपालिका २५ वर्षअघि कस्तो थियो र आगामी २५ वर्षपछि कस्तो हुन सक्छ भन्ने विषयमा समेत परिकल्पनात्मक छलफल गराइएको थियो।
कार्यक्रमको मुख्य उद्देश्य जलवायु परिवर्तन र बसाइँसराइका प्रभावबारे गहन छलफल गर्दै दीर्घकालीन रणनीतिक दृष्टिकोण विकास गर्नु रहेको आयोजकले जनाएको छ।
कार्यशालाबाट सबै सहभागीको सक्रिय सहभागिता, समूहगत छलफलमार्फत विषयवस्तुको व्यापक समेटाइ तथा स्थानीय तहमा दीर्घकालीन योजना निर्माणका लागि आवश्यक दृष्टिकोण विकास हुनु प्रमुख उपलब्धिका रूपमा लिइएको छ। समय सीमित भएकाले केही विषयमा पर्याप्त छलफल गर्न नसकिए पनि सामूहिक छलफलबाट सबै विषय समेट्न सकिने र समयको समेत बचत हुने सिकाइ प्राप्त भएको आयोजकले जनाएको छ।
