मेलम्ची । क्याच एण्ड सर्व बल नेपालले देशभर संस्था विस्तार र खेलको प्रवर्द्धन गर्ने उद्देश्यसहित सिन्धुपाल्चोकको मेलम्चीमा पहिलोपटक डेमो प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष कदम्बरी श्रेष्ठको सभापतित्वमा आयोजित कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ प्रमुख अतिथि तथा पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा क्याच एण्ड सर्व बल खेलको परिचय, महत्व, नियम तथा नेपालभर यसको विकास र संस्थागत विस्तारका योजनाबारे जानकारी गराइएको थियो। सहभागीहरूलाई खेलको व्यावहारिक अभ्यास गराउँदै डेमो प्रदर्शन पनि गरिएको थियो।
प्रमुख अतिथि आइतमान तामाङले नयाँ खेलकुद गतिविधिले अनुशासन, नेतृत्व क्षमता र स्वस्थ जीवनशैली विकासमा टेवा पुर्याउने बताउँदै स्थानीय तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उपाध्यक्ष सुनिता अधिकारीले ग्रामीण क्षेत्रमा खेलकुद विस्तार गर्दै विशेषगरी महिलाको सहभागिता बढाउनुपर्नेमा जोड दिनुभयो।
संस्थाकी अध्यक्ष कदम्बरी श्रेष्ठले विद्यालय, स्थानीय तह र समुदायस्तरसम्म क्याच एण्ड सर्व बल विस्तार गरी राष्ट्रियस्तरमा लोकप्रिय खेलका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउनुभयो। आगामी दिनमा विभिन्न जिल्लामा प्रशिक्षण, प्रतियोगिता तथा संस्था विस्तारका कार्यक्रम सञ्चालन गरिने जानकारी पनि दिनुभयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, युवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उल्लेखनीय सहभागिता रहेको थियो।
