राष्ट्रिय स्वतन्त्र पार्टी इन्द्रावती गाउँपालिका स्तरीय प्रथम अधिवेशन सम्पन्न

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

भिमाटार सामुदायिक भवन, इन्द्रावती १२ — राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम ऐतिहासिक इन्द्रावती गाउँपालिका स्तरीय अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। इन्द्रावती गाउँपालिका वडा नम्बर १२ को सामुदायिक भवनमा सम्पन्न अधिवेशनको सभाध्यक्षता इन्द्रावती गाउँपालिका सभापति उमेश अधिकारीले गर्नुभएको थियो भने जेष्ठ सदस्य केशव प्रसाद आचार्य प्रमुख अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।

सभापति उमेश अधिकारीले वडा तहसम्म तदर्थ समिति गठनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै पार्टी कार्यालय स्थापनाले गुनासो सुनुवाइ र सदस्यता प्रक्रियालाई सहज बनाएको बताउनुभयो। उहाँले प्रधानमन्त्रीको “बोली भन्दा काम ठूलो हो” भन्ने सन्देशलाई आत्मसात गर्दै सरकार जनताको आवश्यकता केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। गाउँ विकासका लागि तल्लो तहबाटै योजना बनाएर अघि बढे मात्र समृद्धि सम्भव हुने भन्दै संगठन सुदृढीकरणका लागि सबैसँग सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभयो। 

निर्वाचन समिति संयोजक तथा बागमती प्रदेश कमिटी सदस्य भरत गुरुङ ले परिवर्तनप्रति जनताको अपेक्षा उच्च रहेको उल्लेख गर्दै इमान्दारिता र आत्मनिर्भर विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। 

जिल्ला कमिटी सचिव चक्रपाणि सिग्देलले जनताको सच्चा सेवक बन्न सक्ने नेतृत्व आवश्यक रहेको र जिल्लामै नमुना कमिटी निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो।

जिल्ला कमिटी सदस्य छिरिङ दोर्जे तामाङ ले पदलाई जिम्मेवारीका रूपमा बुझ्नुपर्ने भन्दै सक्षम, जुझारु र शिक्षित नेतृत्वले मात्र समाज परिवर्तन सम्भव हुने धारणा राख्नुभयो।

नेपाली काँग्रेस प्रतिनिधि जीवन कुमार थापा मगरले राजनीतिक मतभेद भए पनि विकास र समृद्धिका लागि साझा सहकार्य आवश्यक रहेको बताउँदै गाउँपालिकाको गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिनुभयो। नेकपा एमाले प्रतिनिधि प्रकाश मैनाली ले विकास र समृद्धिका लागि सबै दलसँग सहकार्य गर्न तयार रहेको बताउनुभयो।

समाजसेवी तथा मदर सिस्टरकी बालगृहका अध्यक्ष मिना थापाले युवा जागरुकता र सेवामुखी नेतृत्वको आवश्यकता औँल्याउँदै अब आउने नेतृत्व “नेता होइन सेवक” बन्नुपर्नेमा जोड दिनुभयो।

वडा १० सभापति रामचन्द्र दुलाल ले राष्ट्रिय स्वतन्त्र पार्टी सबै वर्गको साझा पार्टी भएको उल्लेख गर्दै वैचारिक प्रतिस्पर्धामा सक्षम संगठन निर्माण आवश्यक रहेको बताउनुभयो।

वडा १ सभापति फुर्वा तामाङले क्षमतावान र जिम्मेवार नेतृत्वले मात्र पार्टीलाई सशक्त रूपमा अघि बढाउन सक्ने बताउँदै संगठनलाई जनमुखी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो।

वडा ६ सभापति विनोद न्यौपाने ले पार्टीको स्पष्ट खाका तयार गरी संगठनलाई योजनाबद्ध रूपमा अघि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै वर्तमान अवस्थामा पालिका तहबाटै सशक्त नेतृत्व विकास गर्नुपर्ने बताउनुभयो।

पालिका सचिव कुमार तामाङले सञ्चालन गर्नुभएको कार्यक्रममा पालिका सदस्य दिनेश थापाले स्वागत मन्तव्य राख्दै देशको मुहार फेर्ने उद्देश्यले गठन भएको पार्टीलाई सबैको साथ आवश्यक रहेको बताउनुभयो।

अधिवेशनले संगठन विस्तार, स्थानीय विकास, सुशासन र सहकार्यलाई प्राथमिकतामा राख्दै आगामी कार्यदिशा अघि बढाउने प्रतिबद्धता जनाएको छ।

Leave a Reply