समाजसेवी माेहन गिरीद्वारा चण्डेश्वरी माविमा शैक्षिक सामग्री तथा पोशाक वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

शैक्षिक अभियन्ता एवं समाजसेवी मोहन बहादुर गिरी र लायन्स क्लब अफ काठमाडौं शुभ ताराको सहयोगमा चण्डेश्वरी माध्यमिक विद्यालय मा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ।

विद्यालयमा इसिडीदेखि कक्षा १२ सम्म अध्ययनरत ३०८ जना विद्यार्थी तथा २५ जना शिक्षकलाई पोशाक वितरण गरिएको हो। साथै कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई स्कुल ब्याग, पानीको बोतल लगायतका शैक्षिक सामग्री समेत प्रदान गरिएको हो ।

मोहन बहादुर गिरी ले कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई काठमाडौंमा निःशुल्क अध्ययनको व्यवस्था गरिने बताउनुभएको छ। कार्यक्रममा बोल्दै उहाँले सरकारी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि भविष्यमा सरकारी जागिर खान सक्ने सक्षम र प्रतिस्पर्धी बनाउन जरुरी रहेको धारणा राख्नुभयो।

उहाँले अभिभावकहरूले आफ्ना बालबालिकाको पढाइ, व्यवहार र भविष्यप्रति विशेष चासो दिनुपर्ने उल्लेख गर्दै विद्यालयले राम्रो नतिजा ल्याएमा यस्ता सहयोगी कार्यक्रम फेरि पनि लिएर फर्किने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसका लागि विद्यार्थी, शिक्षक र अभिभावक सबैले मेहनत गर्नुपर्ने उहाँको भनाइ थियो। पालिकामा हरेक क्षेत्रमा आफूले सहयोग गर्दै आएको बताउँदै उहाँले भविष्यमा आफूलाई परेमा पनि सहयोग गर्न पर्ने धारणा राख्नुभयो । उहाँले “मैले अहिले सहयोग गरिरहेको छु, भविष्यमा तपाईंहरूले मलाई सहयोग गर्नुपर्ने दिन पनि आउन सक्छ,” भन्दै समाजमा सहकार्य र सहयोगको भावना आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई समेत आवश्यक सहयोग गर्न आफू तयार रहेको उहाँले जानकारी दिनुभयो।

वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक सचेत हुन आवश्यक रहेको बताउनुभयो। विद्यालयमा सरकारले गरेको लगानी जनताकै पैसा भएकाले त्यसको सही सदुपयोग गर्न सबै जिम्मेवार बन्नुपर्ने उहाँले उल्लेख गर्नुभयो।

त्यसैगरी वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरीले २०७९ सालदेखि सुरु गरिएको अभियान अन्तर्गत हालसम्म ४२ वटा विद्यालयमा वितरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। गाउँपालिकाभर ६६ हजार सामग्री वितरण गर्ने लक्ष्य रहेको समेत उहाँले बताउनुभयो।

वडा नम्बर ११ का अध्यक्ष रामजी माझीले विद्यालयले हासिल गरेको शैक्षिक उपलब्धिलाई निरन्तरता दिन सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताउनुभयो। सरकारको मात्रै मुख नताकी समाजका हरेक व्यक्तिले आफ्नो क्षेत्रबाट योगदान दिनुपर्ने उहाँको धारणा थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवराम न्यौपानेले सहयोगदाताप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले विद्यार्थीमा थप उत्साह र प्रेरणा मिलेको बताउनुभयो।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य कमला भट्टराईको सभापतित्वमा सम्पन्न काकार्यक्रममा लायन्स क्लबका प्रतिनिधि राजेश हिमालय, समाजसेवी प्रकाश दुलाल, प्रेमप्रसाद आचार्य, रामचन्द्र दुलाल लगायतले मन्तव्य व्यक्त गर्दै यस्ता सहयोगले शिक्षामा सकारात्मक प्रभाव पर्ने र विद्यार्थीको शैक्षिक गुणस्तर को लागि विद्यालयप्रति अभिभावकको चासो अति आवश्यक रहेको धारणा राख्नुभएको थियो।

Leave a Reply