मेलम्ची नगरपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, केही विद्यालयको सत-प्रतिशत उत्तीर्ण, समग्र उत्तीर्णदर ७९ प्रतिशत

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।

मेलम्ची नगरपालिका ले आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षाको नतिजा सार्वजनिक गरेको छ । नगर शिक्षा शाखाद्वारा सार्वजनिक विवरणअनुसार यस वर्ष नगरभित्रका विभिन्न विद्यालयबाट सहभागी विद्यार्थीमध्ये समग्रमा ७९ प्रतिशत उत्तीर्ण भएका छन् ।
नगरपालिकाका अनुसार कुल ५ सय ७१ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ४ सय ५३ जना उत्तीर्ण भएका छन् भने १ सय १८ जना अनुत्तीर्ण भएका छन्। नतिजाले नगरभित्रको शैक्षिक अवस्थाको समग्र चित्र प्रस्तुत गरेको छ।

नतिजा अनुसार केही विद्यालयहरूले शतप्रतिशत नतिजा निकाल्दै उत्कृष्ट प्रदर्शन गरेका छन् । कुल ३० विद्यालय मध्य ११ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएका छन् ।

मेलम्ची १० का दुवै विद्यालय शितलादेवी माध्यमिक विद्यालय र भुमेस्थान आधारभुत विद्यालयले राम्रो जिपिए सहित सत प्रतिशत उतिर्ण नतिजा ल्याउन सफल भएको छ। गत बर्ष एस ई ई परीक्षामा सितलादेवीले नगरको सामुदायिक बिद्यालय मध्य सत प्रतिशत नतिजा ल्याएको थियो ।

सरस्वती माध्यमिक विद्यालय,जाल्पदेवी माध्यमिक विद्यालय, हैबुङ महादेवस्थान माध्यमिक विद्यालय, थानाभन्ज्याङ आधारभूत विद्यालय, जलवाइदेवी माध्यमिक विद्यालय, सातकन्या माध्यमिक विद्यालय, क्यौलेठाना आधारभुत विद्यालय, प्रगति अंग्रेजी माध्यमिक विद्यालय उच्च जिपिए र मेलम्ची कम्युनिटि माध्यमिक विद्यालयको राम्रो जिपिए सहित शत प्रतिशत नतिजा रहेको मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख लक्ष्मीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

यता केही विद्यालयहरूको नतिजा तुलनात्मक रूपमा कमजोर देखिएको छ, जसले शिक्षण सिकाइ प्रक्रिया सुधार गर्न थप ध्यान दिनुपर्ने संकेत गरेको छ। विशेषगरी कम उत्तीर्णदर भएका विद्यालयहरूमा विद्यार्थी सिकाइ उपलब्धि वृद्धि गर्न लक्षित कार्यक्रम आवश्यक देखिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले नतिजाको आधारमा आगामी दिनमा विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, शिक्षक क्षमता विकास, तथा विद्यार्थी केन्द्रित सिकाइ प्रणालीलाई अझ प्रभावकारी बनाउने योजना बनाएको जनाएको छ ।

स्थानीय स्तरमै कक्षा ८ को परीक्षा सञ्चालन र मूल्याङ्कन गरिँदै आएकोमा यस वर्षको नतिजाले समग्र शैक्षिक सुधारतर्फ सकारात्मक संकेत दिएको सरोकारवालाहरूको भनाइ छ ।

Leave a Reply