मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधान र घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी तथा उपप्रमुख हुमा कुमारी डि.सी.बीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
भेटघाटका क्रममा विशेषगरी न्यायिक समितिको प्रभावकारी कार्यसम्पादनबारे विस्तृत छलफल गरिएको थियो। घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.ले न्यायिक समितिमार्फत सम्पन्न भएका उत्कृष्ट कार्यहरू, विवाद समाधानका सफल अभ्यासहरू तथा सेवाग्राहीमैत्री कार्यशैलीबारे जानकारी गराउनुभएको थियो । उहाँले स्थानीय तहमा न्यायिक पहुँच सहज बनाउन घोराहीले अपनाएका उपायहरू उदाहरणीय रहेको बताउनुभयो।
त्यस्तै, घोराही उपमहानगर पालिकाका प्रमुख नरुलाल चौधरीले शिक्षा, पूर्वाधार विकास, सेवा प्रवाह सुधार लगायतका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू प्रस्तुत गर्दै समग्र विकासका नमूना अभ्यासहरू साझा गर्नुभएको थियो ।
यस्तै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले न्यायिक समिति तथा समग्र प्रशासनिक कार्यसम्पादनमा गरेका प्रगतिका बारेमा जानकारी गराउनुभयो। उहाँले मेलम्चीमा न्यायिक समितिमार्फत स्थानीय विवादहरू छिटो, सहज र प्रभावकारी रूपमा समाधान गरिएको उल्लेख गर्दै न्यायिक प्रणालीलाई अझ सुदृढ बनाउनेतर्फ आफूहरू प्रतिबद्ध रहेको बताउँँदै मेलम्ची नगरपालिका भ्रमणको लागि निमन्त्रणा समेत गर्नुभयो ।
भेटघाटले दुई पालिकाबीच असल अभ्यास आदानप्रदान, विशेषगरी न्यायिक समितिको सुदृढीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहभागीहरूले स्थानीय तहमा न्यायिक सेवा प्रभावकारी बनाउँदै नागरिकको विश्वास अभिवृद्धि गर्ने साझा लक्ष्यमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




