लाभगाउँ । मेलम्ची नगरपालिका वडा नम्बर ८ स्थीत लाभगाउँ आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा, शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ । कान्छीमाया तामाङ फाउन्डेसनका प्रोप्राइटर डा. दिलबहादुर थोकरको उपस्थितिमा आयोजित कार्यक्रममा विद्यालयका ३० भन्दा बढी विद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको हो ।
कार्यक्रमसँगै सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ३५ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । स्वास्थ्य परीक्षणपछि आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको छ ।
यस्तै, कार्यक्रमको अवसरमा समाजसेवी लाफिङ बुद्ध गुरु शेरबहादुर तामाङले पनि बिद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गर्नुभएको थियो ।
सिन्धु स्पाइडर युवा क्लबका अध्यक्ष अरुण तामाङ र गायक सुक्री दोङ लगायत काठमाडौमा बसोबार गर्ने वडाका समाजसेवीहरुको पहल तथा ब्यवस्थापनमा भएको उक्त कार्यक्रममा बिद्यालयले सहयोगीहरूलाई सम्मानपत्रसमेत वितरण गरेको छ ।
कार्यक्रमको अवसरमा डा. थोकरले विद्यालय तथा स्थानीय क्षेत्रको वस्तुस्थिति बुझ्दै आगामी दिनमा पनि यस्तै खालका सहयोगात्मक कार्यक्रम लिएर पुनः आउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिको लागि अवरात्र खटिरहेको बताउँदै विद्यालयका प्रधानाध्यापक दीपक खड्काले हाल शैक्षिक गुणस्तर अभिवृद्धिको क्रममा नियमित साप्ताहिक अतिरिक्त क्रियाकलाप सञ्चालन तथा बाल मनोविज्ञानलाई मध्यनजर गर्दै शिक्षण सिकाइको थालनी गरिएको बताउनुभयो । शैक्षिक गुणस्तर अभिवृद्धिका साथै विद्यार्थीको स्वास्थ्यलाई समेत मध्यनजर गरी भएको यस खालको सहयोग प्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा रहेको उहाँको भनाइ छ।
वडा अध्यक्ष जित बहादुर दोङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तामाङ चलचित्र निर्देशक संघका महासचिव विनय दोङ, समाजसेवी मेन्दो गोले, माया शेर्पा लगायतको उपस्थिति थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष चेङा स्याङबोको अध्यक्षतामा भएको कार्यक्रममा छिमेकी बिद्यालय, जलवाई देवी माध्यामिक बिद्यालयका अध्यक्ष जल बहादुर दोङ लगायत विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
सिन्धु स्पाइडर युवा क्लवका अध्यक्ष अरुण तामाङले बिद्यालयसम्म आई यस जाडोको समयमा बतलबालिकालाई चिसोबाट बचाउने उद्देश्यले न्यानो कपडा बितरण गरेकोमा सहयोगी संस्था तथा ब्यक्तिहरुमा धन्यवाद ब्यक्त गर्नुभयो ।
चिसो मौसममा न्यानो कपडा पाउँदा बिद्यार्थीहरु तथा ग्रामीण क्षेत्रमा घरमै स्वास्थ्य परिक्षण गराउन पाउँदा स्थानीयहरु खुशी भएका छन् ।
