मेलम्ची ।
मेलम्ची युवा समूहको आयोजनामा मेलम्ची बजार सरसफाई गरिने भएको छ । समूहले तिहार लक्षित बजार सरसफाई कार्यक्रम गर्न लागिएको हो। तिहार पर्वलाई उज्यालो र खुसीको पर्वको रूपमा घर आँगन सफा र सिँगार्ने पुरानो परम्परालाई जोगाउने उद्देश्यका साथ बजार सरसफाई कार्यक्रम गर्न लागिएको समूहका एक सदस्य प्रदिप धितालले बताउनुभयो । कार्तिक ३ गते लक्ष्मी पूजाको दिन बिहान ७ बजे समूहको आयोजनामा हुन लागेको यस कार्यक्रममा सक्रिय सहभागिताका साथै सहयोगका लागि बुद्धिजीवी समाजसेवी लगायत सबैमा अनुरोध पनि गरिएको छ।
आपसी एकता र स्वच्छ वातावरणका निर्माण गर्ने उद्देश्यले मेलम्ची खानेपानीको कार्यालयदेखि तल्लो बजारसम्म हुन लागेको सरसफाई अभियानमा जोडिन सबैमा अनुरोध गरिएको हो।

समूहले केही दिन अगाडि मात्रै मेलम्ची नगरपालिका वडा नम्बर ११ मा भएका विभिन्न समस्याहरू व्यवस्थापनका लागि मागपत्र समेत पेश गरेको सदस्य धितालले जानकारी दिनुभयो।
पछिल्लो समय स्थानीय बासिन्दाहरूले दैनिक रूपमा भोग्नुपरेका केही प्रमुख समस्याहरू देखा परिरहेका बताउँदै समस्या दीर्घकालीन रूपमा समाधान नहुँदा स्थानीय जनजीवनमा प्रत्यक्ष प्रभाव परेकोले समुदायको सरोकारका यी विषयहरूमा वडा कार्यालयको ध्यानाकर्षण गराई आवश्यक पहल तथा व्यवस्थापनका लागि पाँचवटा बुँदाहरूमा समस्या राखी वडामा पेश गरेको थियो ।
समूहले पेश गरेका बुँदाहरू :
१. सफाइ कार्यक्रम र डस्टबिन व्यवस्थापन:
हाम्रो क्षेत्रमा नियमित सरसफाइ कार्यक्रमको अभाव र सार्वजनिक स्थलहरूमा डस्टबिन नहुँदा फोहोर व्यवस्थापनमा समस्या भइरहेको छ।
२. सडक बत्ती (Street Light) स्थापना:
अधिकांश गल्ली तथा सडकहरूमा बत्ती नहुँदा राति आवागमन असुरक्षित भइरहेको छ। यसले दुर्घटनाको जोखिम पनि बढाएको छ। सडक बत्ती जडान गरी स्थानीय बासिन्दाको सुरक्षा सुनिश्चित गर्न अनुरोध गर्दछौं।
३. सी.सी. क्यामेरा (CCTV) जडान र मर्मतसम्भार
धरे क्षेत्रमा केही स्थानहरूमा पहिले नै CCTV क्यामेरा जडान गरिएका छन्, तर ती मध्ये धेरै क्यामेरा हाल बिग्रिएका वा सञ्चालनमा नरहेका छन्। यस कारणले निगरानी प्रणाली प्रभावकारी हुन सकेको छैन र साना चोरी, हराइ तथा अन्य घटनाहरू रोकथाममा चुनौती भइरहेको छ। यसलाई ध्यानमा राखी विद्यमान CCTV क्यामेराहरूको नियमित मर्मतसम्भार, आवश्यक परे नयाँ क्यामेरा प्रतिस्थापन, तथा निगरानीको जिम्मेवारी तोक्न अनुरोध गर्दछौं।
४. विजुली पोल तथा तारको व्यवस्थापन:
कतिपय स्थानमा बिजुलीका पोल र तारहरू जोखिमपूर्ण अवस्थामा छन्। पुराना पोल र झुन्डिएका तारहरूले दुर्घटनाको खतरा बढाएको छ। यिनको समयमै मर्मत र व्यवस्थापनको व्यवस्था गरिदिनुहोस्।
५. पार्किङ क्षेत्रको व्यवस्थापन:
धेरै बजार क्षेत्र तथा भीडभाड हुने स्थानहरूमा पार्किङ क्षेत्र तोकिएको भए पनि त्यहाँ आवश्यक सूचना पाटी (sign board) र दिशानिर्देश संकेतहरू नभएकाले पार्किङ प्रणाली प्रभावकारी रूपमा लागू हुन सकेको छैन। यसले सवारीसाधन अनियमित रूपमा राखिने समस्या उत्पन्न गराएको छ, जसका कारण आवतजावतमा असुविधा भइरहेको छ। अतः तोकिएका पार्किङ क्षेत्रहरूमा स्पष्ट र दृष्टिगोचर बोर्डहरू जडान गरी व्यवस्थित पार्किङ प्रणालीलाई सुदृढ बनाउन अनुरोध गर्दछौं।
माथि दिएको बुँदाको आधारमा समस्याहरूको शीघ्र समाधानका लागि आवश्यक कदम चालिदिनुहुन वडालाई अनुरोध गरेको समूहले बताएको छ।