श्री बाल सुधार माध्यमिक विद्यालय मेलम्ची -७ दुवाचौरमा अध्ययन गरी हाल विभिन्न ठाउँमा रहेका भूतपुर्व विद्यार्थीहरूको पहिलो तथा ऐतिहासिक भेला आयोजना गरेको छ ।
भूतपुर्व विद्यार्थी भेला आह्वान मूल समितिको आयोजनामा भएको भेलाले प्रदीप पुरीको अध्यक्षतामा बाल सुधार माध्यमिक विद्यालय भूतपूर्व विद्यार्थी समाज तदर्थ समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा दीपा श्रेष्ठ, सचिवमा नवीन श्रेष्ठ, कोषाध्यक्षमा नवीन गिरी सदस्यहरूमा देवराज सुवेदी, कृष्ण ढुङ्गाना, सोनाम तामाङ, कमला श्रेष्ठ, सुस्मिता गिरी चयन हुनुभएको छ ।
साथै भेलाले विद्यालयमा पूर्व प्रधानाध्यापकको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ । प्रमुख अतिथि वडा अध्यक्ष पासाङ तामाङले भूपू विद्यार्थीहरूको सक्रियतामा भेला आयोजना हुनु खुशी को कुरा रहेको बताउँदै सबै मिलेर दुवाचौरलाई नमुना बनाउनेतर्फ लाग्न आह्वान गर्नुभयो । साथै यसमा वडा सधैँ साथमा रहेको र सहयोग गर्न तयार रहेको उहाँको भनाई छ ।
यस्तो कार्यले दुवाचौरलाई समृद्ध बनाउन र विद्यालय लगायत संस्था सञ्चालन गर्न सहकार्य महत्त्वपूर्ण हुने विद्यालयमा प्रधानाध्यापक सूर्यप्रसाद श्रेष्ठको भनाई छ । सल्लाहकार समितिका संयोजक तथा पूर्व प्रधानाध्यापक श्रेष्ठले यसका लागि विगतमा पनि यस्ता प्रयास प्रयास भएको तर सफल नभएको बताउँदै अब भने सफल हुने विश्वास व्यक्त गर्नुभयो । तदर्थ समिति बनाएर एक जुट भएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो । यहाँको शिक्षाको गुणस्तर वृद्धि गर्न सहयोग गर्न सकिने बनाउँदै भौतिक संरचना बनिसकेको र अब शिक्षा सुधारका लागि छात्रवृत्ति लगायत सामाजिक कामका लागी भिन्न स्थानमा छरिएर रहेका पूर्व विद्यार्थी एक जुट हुन आवश्यक रहेको उहाँको धारणा थियो ।
समितिका अध्यक्ष पुरीले अब पूर्व विद्यार्थी जुटेर शैक्षिक गुणस्तर वृद्धिमा लाग्नु पर्ने बताउँदै प्रतिस्पर्धामा बिक्ने गरी पढ्न वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । सबैलाई समिति बनाएर समेट्न यो भेला आह्वान गरिएको पनि उहाँले जानकारी दिनुभयो ।
प्रमुख अतिथि वडा अध्यक्ष पासाङ तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अध्यक्ष नवराज सुवेदी, पूर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, शिक्षक अभिभावक सङ्घका अध्यक्ष सुदर्शन सुवेदी , प्रधानाध्यापक सूर्यप्रसाद श्रेष्ठ लगायत उपस्थित रहेको भेलामा नवीन श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको भेलाको कार्यक्रम प्रदीप पुरीले सञ्चालन गर्नुभएको थियो ।