मेलम्ची बाढीपछिका गैर–आर्थिक नोक्सानीबारे विस्तृत प्रतिवेदन सार्वजनिक

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
मेलम्ची नगरपालिकाको समन्वयमा प्रकृति रिसोर्स सेन्टरले २०७८ सालको विनाशकारी मेलम्ची खोलाको बाढीपछिका गैर–आर्थिक हानि तथा नोक्सानीबारे विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

सो प्रतिवेदनमा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा भौतिक संरचना मात्र होइन, स्थानीय समुदायको सांस्कृतिक पहिचान, सामाजिक सम्बन्ध, आत्मबल र सामूहिक स्मृतिमा समेत गहिरो असर पारेको उल्लेख छ । कार्यक्रममा अध्ययन टोलीका ६ जना अनुसन्धानकर्ताले आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै, प्रभावित समुदायका लागि मनोसामाजिक सहयोग र सांस्कृतिक पुनर्निर्माणलाई दीर्घकालीन पुनःस्थापना रणनीतिको केन्द्रमा राखिनुपर्नेमा जोड दिए ।

प्रतिवेदनले बाढीपछिका सामाजिक, सांस्कृतिक र मनोसामाजिक प्रभावहरूको विस्तृत मूल्याङ्कन गर्दै, ती हानिलाई राज्यका नीति, योजना र स्रोत व्यवस्थापनसँग जोड्नुपर्ने ठोस सुझाव दिएको छ ।

कार्यक्रम नगरप्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य र उपप्रमुख उमा प्रधानको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा नं. २, ६ र १० का वडाध्यक्षहरू नगेन्द्र प्रसाद खतिवडा, प्रेम बहादुर तामाङ र अमृत खनाल, समाजसेवी बालकृष्ण देउजा, सुरक्षा निकायका प्रतिनिधि तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।

सहभागीहरूले प्राकृतिक विपत्तिबाट हुने गैर–आर्थिक क्षतिलाई समेत नीतिगत मान्यता दिनुपर्ने र त्यसका आधारमा स्थानीय, प्रादेशिक तथा संघीय तहमा पुनर्निर्माण योजना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको निष्कर्षमा भनिएको छ — मेलम्ची र हेलम्बुका बासिन्दाले भोगेका मनोसामाजिक र सांस्कृतिक चुनौतीहरू दीर्घकालीन पुनःस्थापनाको प्रमुख पक्ष हुन्, जसका लागि राज्य र नागरिक समाजबीच सहकार्य अनिवार्य छ ।

Leave a Reply