रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा सूचिकृत मेलमिलापकर्ताहरुका लागी तीन दिने पुनर्ताजगी तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिकाको सहयोग न्यायिक समिति इन्द्रावती गाउँपालिकाको आयोजनामा सुरु भएको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्ने क्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले वर्गीय समाजमा विवाद स्वभाविक हुने र त्यस्ता विवाद समाधान वडा स्तरमै मिलाउन सक्नुपर्ने बताउनुभयो । त्यसको लागी मेलमिलापकर्ताहरुमा क्षमता अभिवृद्धि आवश्यक रहेकोले यो तालिमको आयोजना गरिएको र तालिममा सिकेका कुराहरु कार्यक्षेत्रमा कार्यन्वयन गरि सामाजिक न्याय स्थापित गर्न सहयो पुग्ने विश्वास लिएको बताउनुभयो ।
कार्यक्रमका सभापति न्यायिक समितका संयोजक तथा गाउँपालिका उपाध्यक्ष सोभना तामाङले वडामा आएका विवादहरू वडामै निरुपण गर्नुपर्ने बताउनुभयो । त्यसका लागी गाउँपालिका न्यायिक समितिले सल्लाह सुझाव तथा समन्वय गर्न तयार रहेको बताउनुभयो । बेला बेलामा मेलमिलापकर्ताहरुका लागी यस्ता तालिमहरू भइरहने र त्यसबाट कार्य सम्पादनमा सहयोग पुग्ने उहाँको भनाई थियो ।
सामाजिक मेलमिलाप कसरी सुरु भयो र यसको संवैधानिक व्यवस्थाबारे जानकारी दिँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले समाजमा विवाद स्वभाविक कुरा भएकोले सकेसम्म विवाद आउँदै नआउनु राम्रो र आएमा त्यसलाई बुद्धिमतापूर्ण तवरले निर्णय गरी दुबै पक्षको जित जितको अवस्थामा समाधान गर्न सक्नुपर्ने र त्यसका लागी यो तालिम आयोजना गरिएको बताउनुभयो ।
न्यायिक समितिका सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले कार्यक्रममा स्वागत मन्तव्य राख्दै मेलमिलापकर्ताहरुले गाउँपालिकामा शुसासन कायम राख्न भूमिका खेल्नुपर्ने बताउनुभयो ।
तीन दिन सम्म चल्ने तालिममा स्थानीय तहमा विवाद र विवाद समाधानको उपायहरु, मेलमिलाप र मेलमिलापमा न्यायिक समिति र मेलमिलापकर्ताको भूमिका, न्यायिक समितिको कार्यविधिगत प्रावधान, न्यायिक समितिको काम कर्तव्य र अधिकार, न्यायिक समिति र मेलमिलापमा प्रयोग हुने महत्वपूर्ण लिखत सम्बन्धी केहि जानकारी, न्यायिक समितिको मुद्दा सुनुवाइ सम्बन्धी ब्यवस्था, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ र ५३ मा भएको व्यवस्था, मुलुकी देवानी संहिता ऐनमा भएको पारिवारिक कानुन सम्बन्धमा भएको व्यवस्था, न्यायिक समिति र मेलमिलापको लागि स्थानीय तहको भूमिका लगायतको विषयमा सिकाइने गाउँपालिकाका न्यायिक समिति सहजकर्ता भुगोल आचार्यले जानकारी दिनुभयो ।
तालिमको सहजिकरण गाउँपालिकाका पूर्व न्यायिक समिती सहजकर्ता अग्नि दनुवार, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, न्यायिक सहजकर्ता नेत्र धिताल र वडा नम्बर ५ का अध्यक्ष तथा वकिल शशिनाथ आचार्यले गर्नुहुने छ । १९ गते सम्म सञ्चालन हुने तालिममा सबै वडाका मेलमिलापकर्ताहरुको सहभागिता रहेको छ ।