परिवर्तनका लागि सहकार्य नेपालद्वारा ऐसेलुखर्कका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । परिवर्तनका लागि सहकार्य (Change Action Nepal) को आयोजना र इन्द्रावती गाउँपालिकाको समन्वयमा शैक्षिक सामाग्री बितररण तथा जलवायु परिवर्तन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

एसेलुखर्क मा बि मा परिवर्तनका लागि सहकार्य नेपालको सहयोगमा अध्ययन गरिरहेका विद्यार्थी र उनिहरुका अभिभावकहरुको उपस्तिथिमा नेप्लिज युथ फर क्लाइमेटका निश्चल ढुंगानाले जलवायु परिवर्तन भनेको के हो ? यसको कारण के के हुन ? र यसबाट बच्ने उपायहरु लगायतको बारेमा अभिमुखिकरण गर्नुभएको थियो ।

साथै संस्थाको सहयोगमा अध्ययनरत ३० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु बितरण गरिएको छ । उनीहरूलाई कापी कलम सिसाकलम छाता झोला पानी खाने बोतल जिमेट्रिक बक्स लगायतका शैक्षिक सामग्रीहरू वितरण गरिएको हो ।


कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले शैक्षिक विकास बिना समाजका अन्य कुराहरू विकास हुन असम्भव भएको बताउँदै गाउँपालिकाको पनि त्यही दृष्टिकोण रहेको र योसँग मेल खाने यस संस्थाको दृष्टिकोण पाएको बताउनुभयो। साथै गाउँपालिकामा कार्य गर्ने विभिन्न संघसंस्थाहरूको अभिभावकत्व गाउँपालिकाले बहन गर्नुपर्ने भएकोले यसको पनि अभिभावकत्व बहन गर्न तयार रहेको उहाँको धारणा थियो। साथै गाउँपालिकामा १२ वटा माध्यमिक विद्यालयहरू रहेको जानकारी गराउँदै ऐसेलुखर्क माध्यमिक विद्यालयमा मात्र यस कार्यक्रमलाई सीमित नबनाउन अनुरोध गर्नुभयो।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले विद्यार्थीहरूलाई अध्ययनको लागि प्रेरित गर्न र राम्रो अङ्क प्राप्त गर्न प्रोत्साहन मिल्ने भएकोले यस्ता सहयोग र सहकार्यको लागि संस्थाप्रति आभार प्रकट गर्नुभयो। साथै शैक्षिक संस्थाको प्रयासलाई नतिजामा रूपान्तरण गर्न अभिभावकहरूको पनि महत्वपूर्ण भूमिका हुने भएकोले यसमा ध्यान दिन आग्रह पनि गर्नुभयो।

संस्थाले जुन लक्ष्य लिएर विद्यार्थीहरूलाई सहयोग गरिरहेको छ त्यसलाई पुरा गर्न विद्यार्थीहरूले पनि मेहनत गर्नुपर्ने उहाँको भनाई छ। त्यस्तै यस प्रकारको शैक्षिक सामग्रीको सहयोग व्यक्तित्व विकास र शैक्षिक गुणस्तर वृद्धिका लागि प्रयोग गर्न विद्यार्थीहरूलाई आग्रह पनि गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि इन्द्रावती ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले यस सहयोग का लागि संस्थाप्रति आभार प्रकट गर्दै यसले शैक्षिक क्षेत्रमा विद्यालयलाई अगाडि बढाउन सहयोग पुग्ने धारणा राख्नुभयो । साथै आज प्राप्त गरेका शैक्षिक सामग्रीहरू को सही सदुपयोग गर्न र विद्यार्थीहरुलाई अभिभावकले पनि घरमा सहयोग र चासो दिन जरुरी रहेको बताउनुभयो । यस सँगसँगै यस्ता सहयोग र सहकार्य निरन्तर हुने अपेक्षा समेत गर्नुभयो।

कार्यक्रमको समापन गर्दै परिवर्तनका लागि सहकार्य (Change Action Nepal) का अध्यक्ष मैया नेपालीले यस संस्थाले शिक्षा, शान्ती तथा बालबिवहा न्युनिकरण, महिला सशक्तीकरण, वातावरण संरक्षण लगायतको क्षेत्रमा काम गर्दै आएको र संस्थाले गरिव जेहेन्दार र पारिवारिक समस्याका कारण पढ्न नपाएका बालबालिकाहरुलाई पुर्ण छात्रवृत्तिमा पढाइरहेको उहाँले जानकारी दिनुभयो ।

साथै संस्थाको सहयोगमा अध्ययन गरेका दुई विद्यार्थीहरू देशकै प्रतिष्ठित कलेजहरू गोल्डेन गेट र सेन्ट जेभियर्स मा अध्ययन गर्दै आइरहेको र उनीहरुलाई पनि सहयोग गरिरहेको पनि कार्यक्रमको अवसरमा जानकारी गराइएको थियो। संस्थाका कर्मचारी गीता चौलागाईंले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा संस्थाको सहयोग बाट अध्ययन गरिरहेका उत्कृष्ट नतिजा ल्याउन सफल दुईजना विद्यार्थीहरू आरुसी श्रेष्ठ र रिना तामाङलाई मायाको चिनो समेत प्रदान गरिएको थियो।

संस्थाको सहयोगबाट पढ्न पाउँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूका लागि राहत भएको विद्यार्थी सुमन भट्टराईको भनाइ थियो ।

साथै यस्ता सहयोग कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा मात्र नभई आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय जान नपाएका हरूका अभिभावकलाई समेत आफ्ना बालबालिकालाई पढाउन पाउँदा सजिलो भएको अभिभावक नकुल तामाङ ले बताउनुभयो ।

यस संस्थाले जिल्लाको हेलम्बु गाउँपालिकाको इचोक माबी र महेन्द्र माबिमा पनि यो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

Leave a Reply