मानसिक स्वास्थ्य, समस्या र समाधानका लागि अभिमुखीकरण अभियान

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

चौतारा ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले मानसिक स्वास्थ्यको महत्व र समयमा नै तनाव व्यवस्थाका बारेमा सरोकारवालाबीचको छलफल अभियान चलाएको छ ।

मानसिक स्वास्थ्य समस्याका कारण औषधि सेवन गरिरहेका व्यक्ति, उनीहरूका परिवारका सदस्य, सरोकारवाला निकाय, जनप्रतिनिधिका बीचमा अन्तरक्रिया तथा अभिमुखीकरण अभियान चलाइएको हो ।

नगरपालिकाको वडा नम्बर १ स्याउलेको स्वास्थ्यचौकीमा भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले मानसिक रूपमा स्वस्थ रहनु व्यक्तिको लागि मात्रै नभएर समाजको लागि पनि महत्वपूर्ण रहेकाले आफूहरूले प्राथमिकताका साथ अभिमुखीकरण अभियान चलाएको बताउनुभयो ।
मानसिक समस्या लुकाउनुपर्ने वा देखाउन र भन्न नहुने समस्या नभएकाले समयमा नै पहिचान तथा उपचारका लागि खुलेर आफ्नो कुरा राख्न मेयर सापकोटाले अनुरोध गर्नुभयो ।

उमपेयर सीता थापाले वैदेशिक रोजगारी, बसाइँसराइ, समाजमा रहेका हानिकारक प्रथा र परम्पराका कारण पनि मानसिक तनाब अनि दबाब सहनुपर्ने अवस्था रहेकाले अभिमुखीकरण कार्यक्रम अभियानकै रूपमा चलाउने निष्कर्षमा आफूहरू पुगेको बताउनुभयो ।

सुरुमा यसप्रकारको अभियानका लागि बढी मानसिक समस्याबाट प्रभावित नागरिक रहेको, आत्महत्या लगायतका घटना धेरै भएका गाउँलाई प्राथमिकता दिइएको उपमेयर थापाले जानकारी दिनुभयो ।

मानसिक स्वास्थ्यका बारे कम चर्चा हुन्छ । यो देखाउनु वा सुनाउनु हुँदैन भन्ने मान्यता समाजमा अझैँ छ । अरुलाई समस्या नभन्ने परिपाटीका कारण घटना भएपछि मात्रै जानकारी आउने अवस्था देखिन्छ । त्यसो नहोस् भन्नका लागि पनि हामीले यो कार्यक्रम चलाएका हौँ। उपमेयर थापाले भन्नुभयो ।

कार्यक्रममा चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १ का अध्यक्ष युवलाल श्रेष्ठले आफूले सिकेका सीप र ज्ञानका बारेमा छरछिमेकमा बाँडेर मानसिक सुस्वास्थ्यका लागि आआफ्नो स्थानबाट योगदान गर्न सहभागीसँग अनुरोध गर्नुभयो ।
कार्यपालिका सदस्य खेलकुमारी कार्कीले हिजोआज जोकोहीमा पनि मानसिक तनाव बढेकाले आगामी दिनमा सबै वडामा यस्तो अभिमुखीकरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।

हिजो स्याउलेमा भएको अभिमुखीकरण कार्यक्रममा महिला र पुरुष गरी ६५ जना सहभागी रहेको नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुमित्रा भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार मानसिक स्वास्थ्य समस्या, समाधान र सजगताका बारेको अभिमुखीकरण आज चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नम्बर १३ को ठूलो शिरुबारीमा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष रामप्रसाद गौतमले आफ्नो वडामा आत्महत्याका घटनाहरू बढी हुने गरेका कारण पनि यो अभिमुखीकरण कार्यक्रम सञ्चालनका लागि विशेष पहल गरेको बताउनुभयो ।

तनाव कम गर्ने उपाय र यसको असरका बारेमा जानकारी लिएर गाउँघर, छरछिमेकमा अरुलाई पनि भनेर आत्महत्याका घटना रोक्ने जिम्मेवारी पूरा गर्न सहभागीलाई अनुरोध गर्नुभयो ।

शिरुबारीमा भएको अभिमुखीकरणमा मानसिक स्वास्थ्य समस्या भएर औषधि सेवन गरिरहेका, उनीहरूका आफन्त, स्वास्थ्यकर्मी, शिक्षक तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रममा ६८ जना सहभागी भएका थिए ।

सहभागीलाई मानसिक स्वास्थ्यको महत्व, तनाव र दबाबको प्रभाव, यसैकारण उत्पन्न हुने समस्या अनि समाधानका उपायका बारेमा जानकारी गराइएको थियो ।

अभिमुखीकरणको सहजिकरण वरिष्ठ मनोविमर्शकर्ता तथा पत्रकार लिलप्रकाश चन्दले गर्नु भएको थियो भने नगरपालिकाका मनोविमर्शकर्ताद्वय रजनी शर्मा र सीता श्रेष्ठको पनि सहभागिता रहेको ।

Leave a Reply