नवलपुर ।
नवलपुर भ्याली स्कुल इन्द्रावती ४ को अभिभावक दिवस, दीक्षान्त एवं सम्मान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रगानका रचनाकार प्रदीप कुमार राई (व्याकुल माइला) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै उहाँले विज्ञानको युगसँगै शिक्षण सिकाइलाई डिजिटलाइज गर्न पर्ने समय आएको बताउनुभयो । साथै निजी विद्यालयहरूले बहुआयामिक सिकाइमा जोड दिने गरेको बताउँदै यो सकारात्मक कुरा भएको बताउनुभयो ।

निजी विद्यालय सामुदायिक विद्यालयको प्रतिस्पर्धी नभई निजी विद्यालयमा भएको कमी कमजोरीलाई पूर्ति गर्न खोलिएको विद्यालय भएको उहाँको भनाइ थियो । साथै निजी र सामुदायिक विद्यालय एकअर्काको परिपूरक रहेको समेत बताउनुभयो । विकासको सम्पूर्ण आधार नै शिक्षा भएकोले अब शिक्षालाई कृषि सँग जोड्नुपर्ने उहाँको धारणा थियो ।

कार्यक्रमका विशेष अतिथि गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले धेरै कोसिसका बावजुद स्थापना भएको यस निजी विद्यालयले यस क्षेत्रका सहर पलायन दर रोक्न सहयोग पुगेको धारणा राख्नुभयो । साथै निजी विद्यालयमा जतिकै सामुदायिक विद्यालयमा पनि अभिभावकहरुले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले यस विद्यालयसँग स्थापनाकालदेखि नै जोडिएको बताउँदै यस विद्यालय स्थापनाको समय देखि नै जस र अपजस आफुले पनि स्वीकार्दै अघि बढेको र अहिले यस विद्यालयको प्रगति देख्दा खुसी लागेको बताउनुभयो । साथै सामुदायिक र निजी विद्यालय बीचमा अभिभावकहरूको चासोमा फरक रहेको बताउनुभयो । यस विद्यालयले विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने योग्य नागरिक उत्पादन गर्न सफल हुन शुभकामना पनि दिनुभयो ।

वडा नम्बर ७ का अध्यक्ष रविन्द्र कुमार खातीले शिक्षा राष्ट्रको योगदानसँग जोड्ने पिहलाे खुड्किलो भएको बताउँदै अहिलेको परिप्रेक्षमा शैक्षिक बेरोजगारी बढ्दै गएको र यसलाई परिपूर्ति गर्न अब किसान बन्ने गरी शिक्षा दिन विद्यालयहरू अघि बढ्नुपर्ने बताउनुभयो ।




कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्ति व्यक्तित्वहरूलाई नवलपुर भ्याली स्कुल नवलपुर सम्मान बाट सम्मान समेत गरिएको छ । जसअन्तर्गत नवलपुर शिक्षा सम्मान बाट सदाबहार बोर्डिङ स्कुलका प्रिन्सिपल दुर्गा थापा लाई सम्मान गरिएको छ । त्यस्तै साहित्य सम्मान बाट हास्यव्यङ्ग्य कवि देवी चापागाई कला सम्मानतर्फ हास्यव्यङ्ग्य कलाकार कृष्णप्रसाद धिताल (धिताल चिरीच्याट्ट) र पत्रकारिता सम्मानबाट फेनिज सिन्धुपाल्चोकका अध्यक्ष, नेपाल पत्रकार महासंघका उपाध्यक्ष तथा कान्तिपुरकर्मी कमला पाख्रिनलाई सम्मान गरिएको छ । साथै कार्यक्रमको अवसरमा कक्षा युकेजी उत्तीर्ण भई कक्षा १ मा पुगेका विद्यार्थीहरूलाई दीक्षित समेत गरिएको छ ।
प्याब्सन केन्द्रिय सदस्य कर्मावाङ्ग्यल लामा, लगायत जिल्ला प्याब्सनका बिभिन्न पदाधीकारीहरु, इलाका प्रहरी कार्यलय नवलपुरका प्रमुख जय नेपाल थापा, छिमेकी बिद्यालयका शिक्षक तथा प्रधानाध्यापकहरु, अभिभावक बिद्यार्थीहरु लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । बिद्यालयका अध्यक्ष बिमला पोखरेलको सभाध्यक्षतामा भएको कार्यक्रम बिद्यालयका प्रिन्सिपल बुद्धि प्रसाद आचार्यले सञ्चालन गर्नुभएको थियो भने सम्मान कार्यक्रम रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गर्नुभएको थियो ।












