मेलम्ची भ्याली क्याम्पस हेलम्बुमा सत्ता गठबन्धन नेविसंघ र अनेरास्ववियुको साझा उमेदवारलाई पराजित गर्दै स्ववियू सभापतिमा अखिल क्रान्तिकारीका उम्मेदवार विजयी भएका छन् । क्रान्तिकारीका सभापतिका उम्मेदवार राजन गिरीले ७३ मत ल्याएर विजय हुनुभएको हो । उहाँका प्रतिद्वन्दी गठबन्धन नेविसंघका रोशन गिरी ले ४० मत मात्रै पाउनुभएको छ ।
उता जलबिरे भ्याली क्याम्पसमा पनि अनेरास्ववियु र नेविसंघ गठबन्धनलाई पराजित गर्दै अखिल क्रान्तिकारीको प्यानलै विजयी भएको छ । क्याम्पसको स्ववियू सभापतिमा क्रान्तिकारीका अशोक ढुंगाना निर्वाचित हुनुभएको छ भने अन्य पदमा पनि क्रान्तिकारीको प्यानलै विजयी बनेको छ । निर्वाचन मंगलबार (आज) सम्पन्न भएको हो ।
त्यस्तै, चौतारा बहुमुखी क्याम्पसमा फर्जी मतहालेपछि तनाव सिर्जना भएको छ । अनेरास्ववियुका जिल्ला अध्यक्ष रविन वाइवाका अनुसार अखिल क्रान्तिकारीले फर्जी मत खसालेपछी विवाद सुरु भएको र झडप समेत भएको हो । नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरूले नाराबाजीसहित मतपेटिका समेत फालेका छन् ।
अध्यक्ष वाइवाले स्ववियु चुनाव नै स्थगित भएको बताउनुभयो । यता अनेरास्ववियु क्रान्तिकारीले भने मतको सुरक्षाको माग गर्दै निर्वाचन गर्नुपर्ने अडान राखेको छ ।
३७१ जना मतदाता रहेको चौतारा बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट सुशील लोप्चन सभापतिका उम्मेदवार हुनुहुन्छ । लोप्चनलाई नेविसंघले साथ दिएको छ भने अखिल क्रान्तिकारीबाट अमृत श्रेष्ठ सभापतिको उम्मेदवार बन्दा उनलाई एकीकृत समाजवादी निकट विद्यार्थी संगठनको साथ दिएको छ ।