कांग्रेस नेता द्वय बानियाँ र तिरूवा द्वारा सिंहमतीका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

कुञ्चाेक , नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि तथा नेपाल किसान महासंघका केन्द्रिय सदस्य उद्वव बानियाँ तथा नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि सुवास तिरूवा सहितकाे संयुक्त सहयाेगमा शैक्षिक सामाग्री वितरण गरिएकाे छ ।

ईन्द्रावती गाउँपालिका वडा नं ३ स्थित सिंहमती माध्यमिक विद्यालयका १३८ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नुका साथै खेलकुद सामाग्री समेत प्रदान गरिएकाे छ । बिहिवार नेपाली कांग्रेसका नेता तथा समाजसेवी उद्वव बानियाँकाे प्रमुख आतिथ्यता र शिक्षक अभिभावक संघका अध्यक्ष केदार वहादुर थापाकाे सभाध्यक्षतामा विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरि साे सामाग्री वितरण गरिएकाे हाे ।

समाजसेवी द्वय बानियाँ र तिरूवाकाे आर्थीक सहयाेगमा विद्यालयका सबै विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खेलकुद सामाग्री वितरण गरिएकाे हाे । शैक्षिक सामाग्रीहरूमा कपी २६५० थान, कलम ९०० थान र पेन्सिल ६५० थान रहेका छन । त्यस्तै खेलकुद सामाग्रीहरूमा फुटबल २ थान, भलिबल २ थान, भलिबल नेट २ थान र फुटबल जाली २ थान विद्यालयलाई प्राप्त भएकाे विद्यालयका प्रधानाध्यापक गणेश ठकुरीले जानकारी दिनुभयाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि उद्वव बानियाँले विद्यार्थी भविस्यकाे उर्जा भएकाे उल्लेख गर्नुभयाे । विद्यार्थीकाे ज्ञानसिप पाठ्यक्रममा मात्र निर्भर नहुने भन्दै उहाँले विद्यार्थीकाे पहिचान गरेर प्रवर्द्वन गर्ने हाे भने विद्यार्थीकाे भविस्य उज्ज्वल बन्ने बताउनुभयाे । “म मन्दिर कम विद्यालय बढि जान्छु, मैले पुज्ने मन्दिर नै विद्यालय हाे”, नेता बानियाँले भन्नुभयाे ।  आफुले शिक्षा क्षेत्रमा निरन्तर सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गर्दै विद्यार्थीकाे प्रतिभा पहिचान गरेर अतिरिक्त क्रियाकलापमा पनि जाेड दिनुपर्ने धारणा राख्नुभयाे । “हामी पढ्दा एक पट्टीकाे बेन्चकाे खुट्टानै हुँदैन थियाे, अहिले विद्यार्थीलाई धेरै सेवा सुविधा प्राप्त भएका छन”, उहाँले भन्नुभयाे ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि सुवास तिरूवाले विद्यार्थीलाई केही हदसम्म राहत हाेस भनेर शैक्षिक सामाग्री वितरण गरिएकाे जानकारी दिनुभयाे । “म जन्मेकाे हुर्केकाे ठाउँकाे मलाई धेरै मायाँ छ, एक दिन भएपनि म याे विद्यालयमा अध्ययन गरेकाे छु”, समाजसेवी तिरूवाले भन्नुभयाे । नेपालीहरू अशिक्षाले पछि परेकाे भन्दै यश विद्यालयका विद्यार्थीलाई देश विदेशमा नाम कहलिने गरि मेहनत गर्न उहाँले आग्रह गर्नुभयाे । घरबाट अनिवार्य रूपमा बालबालिकालाई विद्यालय पठाउन अभिभावक समक्ष उहाँले आग्रह गर्नुभयाे । साथै उहाँले सिंहमति माविलाई २० सेट फर्नीचर उपलब्ध गराउने प्रतिवद्वता समेत व्यक्त गर्नुभयाे ।

विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेकाेमा सम्मान गर्दै विद्यालयले समाजसेवी द्वय बानियाँ र तिरूवा लाई प्रशंसापत्र प्रदान गरेकाे थियाे । कार्यक्रमकाे समापन गर्दै शिक्षक अभिभावक संघका अध्यक्ष केदार वहादुर थापाले शैक्षिक सामाग्री प्राप्त गर्दा विद्यार्थीकाे हाेसला बढेकाे बताउनुभयाे । शैक्षिक तथा खेलकुद सामाग्री वितरण कार्यक्रममा समाजसेवी, शिक्षक, अभिभावक, पत्रकार, विद्यार्थी लगायतकाे उल्लेख्य सहभागीता रहेकाे थियाे ।

Leave a Reply