१७ साउन २०७१ को जुरे पहिरोबाट बाल–बाल बाँचेका बाह्रविसे नगरपालिका ९ का टेकबहादुर विकको परिवार अहिले आफू बस्दै आएको थातथलोबाट विस्थापित हुनुपरेको छ । जुरे पहिरोको १० वर्षपछि फेरि पहिरो खस्न सक्ने सम्भावना बढेपछि उहाँ आफ्नो परिवार लिएर टेण्टको बासमा खुम्चिनुभएकाे छ ।
‘उतिबेला पनि जुरेले लखेट्यो, अहिले फेरि त्यही हाल भएको छ,’ उहाँ भन्नुहुन्छ, ‘सधैंको पहिरोपीडित भइयो, पहिरोले थिच्नसक्ने देखिएपछि अहिले घर छाडेर ज्यान बचाउन परिवारै सरेका छौं ।’ अहिले पहिरो बढेर उनको घर जोखिममा परेको हो ।
टेकबहादुर जस्तै बाह्रविसे ७ घट्टेडाँडास्थित थगाम दलित बस्तीका ६ परिवार पनि सुरक्षित स्थान खोज्दै अन्यत्र सरेका छन् । बस्ती मुनीबाट बग्ने सानो नदीले जमिन कटान गरेपछि यो बस्नी बगाउने सम्भावना देखिएपछि नगरपालिकाको पहलमा सुरक्षित स्थानमा सारिएको हो । यहाँका बिना भुजेल, लाटा कामी, माइली कामी, राम्री विक, सुकुमान कामी, सुकुमान कामी ‘ख’ का परिवार आफू बस्दै आएको ठाउँ छाडेर सुरक्षित स्थानमा बसेका हुन् ।
जताततै पहिरोको जोखिम भएका कारण विस्थापितहरुलाई पाल र टेण्ट दिइएको बाह्रविसे नगरपालिका विपद शाखाका प्रमुख दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयाे । ‘जोखिम क्षेत्र पहिल्याई सुरक्षित सार्नुपरेका परिवारलाई आवश्यक सामग्री दिएर स्थानान्तरण गरेका छौं,’ उहाँले भन्नुभयाे, ‘सुनकोशी खोला पनि कुनै पनि बेला उर्लिन सक्ने भएका कारण त्यतातिर पनि हेरिरहेका छौं ।’ उहाँले पहिरो र बाढीको जोखिम भएका कारण विपद न्यूनीकरणका लागि काम गरिरहेको बताउनुभयाे ।
त्रिपुरासुन्दरी गाउँपालिका–४ पिस्कर बुस्लुङखोलाको बाढीले दर्जन घर जोखिममा परेका छन् । अविरल वर्षासँगै आएको बाढीका कारण घरहरू जोखिममा परेका हुन् । त्यसमध्ये उच्च जोखिममा परेका थामी बस्तीका चार घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । टेन्ट हालेर चार परिवारलाई स्थानान्तरण गरिएको हो ।
बाढी पहिरोबाट उच्च जोखिममा परेका मनमाया थामी, बबिन्द्र थामी, बालकुमार थामी र सुवास थामीको परिवारलाई पाटेडाँडाको सुरक्षित जग्गामा टेन्ट हालेर सारिएको वडा अध्यक्ष टेकबहादुर गुभाजु (विजय)ले जानकारी दिनुभयाे।
विस्थापित परिवारको त्यहाँ बाहेक अन्यत्र कत्तै जग्गाजमीन नभएकाले पाटेडाँडामा अरुको जग्गाको बाली काटेर टेन्ट हालेर सारिएको गुभाजुले बताउनुभयाे। विस्थापित परिवारलाई चार वटा टेन्ट हालेर राखिएको छ ।
तीन वर्षअघि असार १ र साउन १७ गते आएको मेलम्ची जस्तै बाढी अझै ठूलो आउन सक्ने विज्ञहरुको निष्कर्ष छ । बाढीको विन्दु रहेको भेमाथाङमा अझै गेग्रानले भरिएको ठूलो चौर रहेको र त्यो कुनै पनि बेला बग्न सक्ने प्रारम्भिक निष्कर्ष बिज्ञ टोलीको रहेको थियो । असार १ गतेको बाढीपछि सुरुआती विन्दु भेमाथाङको चौर २५ प्रतिशत मात्रै खसेको विज्ञहरुले जनाएका थिए । त्यसयता मेलम्ची नदीको वहाब बढ्नासाथ स्थानी र नदी करिडोरका बासिन्दा आत्तिने गरेको मेलम्चीका सागर श्रेष्ठले बताउनुभयाे। हेलम्बुको शीरमा रहेको भेमाथाङ चौर कुनै पनि बेला फुट्न सक्ने सम्भावना भएकाले बाढी उर्लिन सक्ने उहाँले बताउनुभयाे । उहाँका अनुसार इन्द्रावती नदी करिडोरमा रहेका बासिन्दा सचेत हुने गरेका छन् ।
नेपाल सरकारले लगातार दुई वर्ष संकटग्रस्त क्षेत्र घोषणा गरेको सिन्धुपाल्चोक अझै विपदको उच्च जोखिममा रहेको यी घटनाहरुबाट देखिन्छ । अधिकांश पहाडी भू बनोट रहेको यो जिल्लामा जोखिम क्षेत्र पहिल्याउन अध्ययन नभएकाले विपदको जोखिम बढेको हो ।
जिल्ला विपद व्यवस्थापन समितिका अनुसार सिन्धुपाल्चोकका मेलम्ची, इन्द्रावती, सुनकोशी, भोटेकोशी, ब्रम्हायणी नदीमा अहिले पनि बाढीको जोखिम छ । ठूला ठूला पहरा र भीरले बनेका भूगोल भएकाले पहिरोको जोखिम पनि झनै बढी छ ।
गएको वर्ष मेलम्ची, भोटेकोशी, जुगल र बाह्रविसेमा ठूला पहिरो गएको थियो । ती पहिरोबाट मानवीय क्षति त भयो नै, उत्तिकै भौतिक क्षति पनि भएको थियो । विपदबाट मानवीय र भौतिक क्षति हुन नदिन पूर्व सूचना प्रणालीको जडान गरिनु आवश्यक रहेको स्थानीयवासी बताउँछन् ।
यो बर्खामा पानी पर्ने क्रम बढिरहेको छ । जसले विपद् निम्त्याउने सम्भावना छ । अधिकांश स्थानका भू–बनोट जोखिमयुक्त छ भनिएको छ । तर, प्राविधिक नापजाँच नभएकाले आधिकारिक भन्ने छैन ।
जिल्लामा रहेका १२ स्थानीय तहमध्ये जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोसी गाउँपालिका, बाह्रबिसे नगरपालिका, हेलम्बु गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र जुगल गाउँपालिकाका अधिकांश क्षेत्र उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । जुगल, पाँचपोखरीमा पहिरो जाने समस्या अधिक छ भने बाह्रबिसे, मेलम्ची, हेलम्बु र भोटेकोसीमा पहिरोका साथै बाढीको जोखिम रहेको देखिन्छ ।
‘सिन्धुपाल्चोकमा कहाँ कतिबेला र कस्तो प्रकृतिको विपद हुन्छ भन्ने आँकलन गर्न सकिने अवस्था छैन’, जिल्ला प्रशासन कार्यालयका सूचना ब्यबस्थापन अधिकृत रविराज धितालले भन्नुभयाे, ‘अघिल्ला वर्षहरुको जस्तै क्षति व्यहोर्नबाट जोगिनु अहिलेको आवश्यकता हो ।’ उहाँले बाढी र पहिरोको जोखिम सबै ठाउँमा भएकाले सावधानी अपनाउनुपर्ने बताउनुभयाे ।
सिन्धुपाल्चोकका अधिकांश स्थानीय तहमा हिमाल, पहाड र तराईको हावापानी र भूगोलको अनुभव गर्न सकिन्छ । त्यसैले पनि यहाँका कुन स्थानमा कस्तो विपद् हुन्छ भने अनुमान लगाउने निकै गाह्रो छ । ‘जिल्लैभर सतर्क रहन आग्रह गर्दै जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सार्ने कामहहरु गरिएको छ,’ अधिकृत धितालले भन्नुभयाे, ‘स्थानीय सरकारसँग समन्वय गरि कार्य सम्पादन भइरहेको छ ।’ अबका वर्षहरुमा यस्ता विपद अनि क्षति नहुनका लागि जिल्ला विपद व्यवस्थापन समितिले सक्रियता बढाएको उहाँको दाबी छ ।
स्थानीयस्तरबाट कुन बस्ती कति जोखिम भन्ने पहिचान गर्न समस्या देखिएको अहिलेको अवस्था हो । विपद जोखिम न्यूनीकरणमा सिन्धुपाल्चोकका स्थानीय तहले वेवास्ता गरेको पाइन्छ । नेपाल राजपत्रमा उल्लेख भएअनुसार स्थानीय विपद व्यवस्थापन समितिले आफ्नो काम, कर्तव्य पूरा नगर्ने गरेका छन् । स्थानीय तहमा रहेको समितिले विपद पूर्व तयारी र प्रतिकार्यका योजना नबनाउने, आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना नगर्ने, मनसुन पूर्व तयारी र प्रतिकार्ययोजना तयार नगर्ने गर्दा विपदमा क्षति हुने गरेको यसअघिका तथ्यांकले देखाउँछ ।
विपदबाट हुने क्षति कम गर्नका लागि आफूहरु तयारीमा रहेको स्थानीय तहका प्रमुखहरुको दावी छ । ‘हामीले विपदको तयारी गरेका छौं, आवश्यक सामग्री भण्डार गरिएको छ,’ हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भन्नुभयाे, ‘आवश्यक टेन्ट, त्रिपाल, जस्तापाता, खाद्यान्न औषधिसहित औजारहरु पनि छन् ।’