रेडियो मिसन ।
मेलम्ची नगर उद्योग वाणिज्य संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन मेलम्चीमा भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता तथा सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुध्दराज बस्नेतको विशेष आतिथ्यता र मेलम्ची नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर प्रसाद धितालको सभाध्यक्षतामा एक कार्यक्रमका बिच संघको साधारणसभा तथा अधिवेशन शुक्रबार सम्पन्न भएको हो ।
कार्यक्रमको अवसरमा प्रमुख अतिथी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बजेटमा नै समेटेर मेलम्ची नगर उद्योग वाणिज्य संघलाई पालिकाले साझेदारिमा काम गरेको बताउनुभयो । अझैपनि उद्यमी र पालिकाले साझेदारी गरि व्यावसायिहरूको हक हितका लागि योजना बनाउनुपर्ने उहाँको भनाई थियो । उद्यमी र स्थानीय सरोकारवालाविच तालमेल गरि रोजगारी सृजना गर्न सकेमा युवा पलायन रोक्नुका साथै समृद्धिमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
साना व्यावसायिहरूको लागि सहुलियतपूर्ण कर्जा दिनका लागि नगर उद्योग वाणिज्य संघले काम गर्नुपर्ने र भाडादरमा एकरूपता ल्याई निश्चित दररेट कायम गरि सबैलाई सहजता दिलाउनुपर्ने तथा कोष स्थापना गरि व्यावसायिलाई अप्ठ्यारो परेको खण्डमा सहयोग गर्न सक्ने बनाउनुपर्ने उहाँको भनाई छ । साथै संघको भवन निर्माणका लागि जग्गा व्यावस्थापन भएमा नगरपालिकाले साझेदारी गरेर काम गर्ने बताउनुभयो ।
त्यस्तै नगरपालिकाकले बजार व्यावस्थापनको काम केही पूरा गरेको र केही गरिरहेको तथा बजार संरक्षणमा स्थानिय सरकारको क्षमताको आधारमा काम गरीरहेको बताउँदै फट्टेमा पुल निर्माणका लागि पालिकाले बजेट व्यावस्थापन गरेपनि संघिय सरकारको अनुमति नपाएका कारण रोकिएको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रमका बिशेष अतिथी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुघ्दराज बस्नेतले नगर उद्योग वाणिज्य संघ गठनले जिल्लामा भार कम भएको बताउनुभयो । साथै संघ सँग विकास र समृद्धिमा जिल्ला उद्योग वाणिज्य संघ हातेमालो गरेर अधि बढ्ने उहाँको भनाई थियो । यो अवस्थामा व्यापारीहरू मारमा परीरहेको बताउँदै मेलम्चीलाई पुरानै अवस्थामा फर्काउन आर्थिक, भौतिक र मानविय सबैखाले सहयोग गर्ने उहाँले बताउनुभयो । संस्थागत रूपमा होस वा व्यक्तिगत रूपमा मेलम्ची विकास र समृद्धिको लागि सहयोग गर्ने बताउँदै उत्पादन र उद्योग स्थापना गरि उत्पादित बस्तुहरूको खरीद बिक्री केन्द्र मेलम्चीमा स्थापना गर्नुपर्ने उहाँको भनाई थियो ।
उद्योग वाणिज्य महासंघ कार्यकारी सदस्य बेदबहादुर श्रेष्ठले व्यापारीहरूलाई यतिबेला हौसलाको खाँचो रहेको बताउँदै नगर उद्योग वाणिज्य संघलाई महासंघसंग जोडेर लैजानुपर्ने र व्यापारीहरूको हितका लागि स्थानिय सरकार सकारात्मक रहेकाले उत्पादन र उद्योग सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख उमा प्रधानले जिल्लामा आइपरेका सबै खाले विपदले व्यापार व्यावसायलाई मारमा पारेको र मेलम्चीमा बाढिका कारण व्यावसायिहरू विस्थापित नै हुन पुगेको बताउनुभयो । जलवायु परीवर्तनका कारणबाट पनि व्यासायिहरूलाई असर पुगेको बताउँदै उत्पादनमा जोड दिई बजारमा सामान खरिद गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाई छ । अन्य ठाँउबाट कच्चा पदार्थ ल्याएर पनि गुणस्तरीय सामान उत्पादन गर्नुपर्ने र सेवा तथा नाफा दुवै कुरामा उपभोक्ता खुसि हुने वातावरण सृजना गर्नुपर्ने उपप्रमुख प्रधानले बताउनुभयो । साथै नगर भित्र घर भाडामा पनि एकरूपता हुनुपर्ने उहाँको भनाई छ ।
कार्यक्रमको समापन गर्दै संघका अध्यक्ष पुष्करप्रसाद धितालले नगरपालिका संग समन्वय र सहकार्य गर्दै रचनात्मक र सिर्जनात्मक काम गरिरहेको दावी गर्नुभयो । उहाँले संस्थामा धेरैजना ब्यापारी तथा ब्यबशायीहरुलाई आवद्ध गर्न नसकेको बताउँदै सबैलाई आवद्ध गर्नेगरी अब काम गर्नुपर्ने बताउनुभयो । नगरपालिकाले एउटा नियम बनाएर नगर उद्योग वाणिज्य संघमा सदस्यता लिनका लागी परिपत्र गर्न समेत ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा संघका महासचिव तारा बहादुर बानिँयाले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष प्रतिमा धितालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा पूर्व वडा अध्यक्ष रूद्र प्रसाद दुलाल, जिल्ला उद्योग बाणिज्य संघका पूर्व उपाध्यक्ष रामकृष्ण चालिसे जगन्नाथ, समाजसेवी सागर श्रेष्ठ, मेलम्ची १० का अध्यक्ष अमृत खनाल, मेलम्ची ११ का अध्यक्ष चन्द्र बहादुर तामाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।