रेडियो मिसन ।
काठमाडौँ लगिएको मेलम्चीको पानी यो वर्षामा नदिमा फर्काउन नदिने भएको छ । मेलम्चीको पानी काठमाडौँ निरन्तर लैजान आग्रह गर्दै सुरुङमा प्रवेश गराइएको पानी बर्षायाममा नदिमै फर्काएमा अर्काे वर्ष देखी पानी लैजान नदिने चेतावनी दिइएको छ । मेलम्ची खानेपानी बाढी पीडित संघर्ष समिति र स्थानीय राजनीतिक दलहरुले संयुक्त विज्ञप्ती जारी गर्दै सुरुङमा प्रवेश गराइएको पानी बर्षायाममा पनि निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन अपिल गरेको हो ।
तटिय क्षेत्रका नागरिक वर्षायाम र त्यसले उत्पन्न हुने जोखिमको त्रासदीमा बाँच्न बाध्य भएको बताउँदै, केहि बर्ष देखि हिउँयाम सुरु भएसँगै पानी काठमाडौं प्रवेश गराउने र मनसुन शुरु भएपछि तटीय क्षेत्रको जोखिमलाई ख्याल नगरी पानी पुनः नदीमै फर्काउने गर्नाले त्यस क्षेत्रमा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले यसो नगर्न सुझाएको छ ।
यदि यस कुराको बेवास्था गरी जवर्जस्ती नदीतिरै फर्काउने प्रयत्न गरिएमा आगामी हिउँदमा समेत पानी नपठाउने चेतावनी उनिहरुले दिएका छन् ।
“सुरुङ प्रवेश गराइएको पानी यस बर्षको बर्षायाममा निरन्तर पथान्तरण गर्न र नदीतिर नफर्काउन बाडीपीडित संघर्ष समिति, यस क्षेत्रमा कृयाशील राजनैतिक दलका तर्फबाट बिनम्रतापुर्वक संयुक्त अपिल गर्दछौं, हाम्रो आग्रह, अनुरोध र अपिललाइ कमजोरी ठान्दै जवर्जस्ती नदीतिरै फर्काउने प्रयत्न गरिएमा आगामी हिउँदमा स्थानीय संघर्ष समिति, राजनैतिक दलले लामो समयदेखी उठाउँदै आएका मागहरुको सम्बोधन नगरी पुनः पानी पथान्तरण गर्न असम्भव हुने व्योहोरा यसै बिज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं ।” मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समितिका अध्यक्ष पासाङ लामा, सचिव छिरिङ ग्याल्बु लामा लगायत स्थानीय राजनीतिक दलहरुद्वारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ।
साथै काकाकुल काठमाडौको प्यास मेटाउने यस क्षेत्रको समस्यामा राज्य संबेदनशिल नभएको प्रति गम्भिर चिन्ता पैदा भएको बिज्ञप्तिमा उल्लेख छ । साथै माग पूरा नगरी पानी पथान्तरण गर्न असम्भव हुने नेपाली कांग्रेस हेलम्बु गाउँपालिकाका सभापती राजकुमार भण्डारीले बताउनुभएको छ ।
