ईन्द्रावती ४ मा हस्तकला सामाग्री बनाउने तालिम सम्पन्न भएकाे छ । गरिबी निवारणका लागि लघुउद्यम कार्यक्रम (मेड्पा)को आर्थिक सहयोग र ईन्द्रावती गाउँपालिकाकाे आयाेजनामा वडा नं ४ मा तालिम गरिएकाे हाे । १ महिने सीप विकास तालीममा मकैको खोस्टा प्रयोग गरि बनाईने हस्तकलाका सामग्रीहरु बनाउन सिकाइएकाे वडा नं ४ का सचिव मदन कुमार भट्टराईले जानकारी दिनुभयाे ।
ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं ४ का वडा अध्यक्ष लगायत वडा सदस्य हरुकाे उपस्थिती रहेको थियो । २०८० चैत्र २६ गते सुरु भएको तालिम २०८१ बैशाख २५ गते समापन भएको हाे । तालिममा सक्रियतापुर्वक सहभागी भई सीप आर्जन गरेका उद्यमशील महिलाहरुलाई प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
समापन कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिकाले उद्यमशील महिलाहरुलाई लक्षित गरेर यस्ता किसिमका थुप्रै तालिमहरु सन्चालन गरिरहेको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले जानकारी दिनुभयाे । समुदायको तर्फबाट तालिममा सहभागीहरुको सक्रियता भएमा यसलाई दिगो आम्दानी सँग जोडेर समुन्नति हासिल गर्न सकिने उहाँकाे भनाई छ । उत्पादित हस्तकलाका सामाग्रीहरुको उचित मुल्य सहितको बजारीकरणको लागि गाउँपालिकाले जिम्मा लिने बताउँदै नेपालले यसको लागि तालिम सन्चालन गर्ने संस्था पनि सकारात्मक रहेको बताउनुभएकाे छ ।
कार्यक्रममा मन्तब्य राख्दै गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङले महिलाहरूले यो तालिम हासिल गरेकोमा खुसी व्यक्त गर्दै निरन्तरताको लागि शुभकामना दिनुभयाे ।
त्यस्तै तालिम समापन सत्रका अध्यक्ष तथा वडा नं ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले मकैको खोस्टा प्रयोग गरि सुन्दर हस्तकलाका सामाग्रीहरु उत्पादन गर्न सकिने बताउनुभयाे । कच्चा पदार्थको सजिलै उपलब्ध हुने र कलात्मक देखिने हुँदा यसबाट थोरै लागतमा पनि व्यवसाय सञ्चालन गर्न सजिलो हुने तामाङकाे भनाई छ । यसको स्थायित्वका लागि वडा कार्यालय तथा गाउँपालिका सदैव प्रतिबद्ध हुने तामाङले जानकारी दिनुभयाे ।
तालिमका क्रममा तयारी गरिएका ह्याट र ह्यान्ड ब्यागको प्रदर्शन गरिएको र सहभागीहरुले तयार गरेका सामाग्रीहरु उपहार स्वरुप वितरण गरिएको थियो ।

