सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाले आधारभूत तहको नतिजा सार्वजनिक गरेको छ । शैक्षिक बर्ष २०८० मा कक्षा ८ को परीक्षामा पालिकाका ४ विद्यालयको नतिजा शून्य आएको छ ।
आधारभूत तहको परीक्षामा सम्मीलित कुल १९ विद्यालयमध्ये ४ वटा विद्यालयको नतिजा शून्य आएको हो । शून्य नतिजा आउने विद्यालयहरु श्री नवलपुर माध्यमिक विद्यालय, श्री सेतिदेवि माध्यमिक विद्यालय, श्री पञ्चकन्या आधारभूत विद्यालय र श्री परोपकार आधारभूत विद्यालय रहेका छन् ।
इन्द्रावती गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाबाट प्राप्त तथ्यांक अनुसार परीक्षामा सामेल भएका विद्यालयमध्ये पालिकाको वडा नम्बर ६ मा रहेकोे श्री कमलादेवि मावि उत्कृष्ठ भएको छ । सो विद्यालयबाट १८ जना विद्यार्थी सहभागि भएकोमा १३ जनाले न्युनतम ग्रेड प्राप्त गरेका छन् ।
पालिकाका कक्षा ८ सम्म सञ्चालित १९ वटा विद्यालयबाट ४८० जना विद्यार्थीहरु परीक्षामा सामेल भएका थिए । जसमा ७७ जना विद्यार्थीले मात्र न्युनतम ग्रेड प्राप्त गरेका छन् ।
विषयगत रुपमा नेपालीमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ३३ जना रहेका छन् । अङ्गेजीमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ५९ जना रहेका छन् । गणितमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ५० जना रहेका छन् । विज्ञानमा न्युनतम ग्रेड प्राप्त गर्ने १ सय ७४ जना रहेका छन् । सामाजिकमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ३० जना रहेका छन् । स्वास्थ्य शारीरीकमा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ८८ जना रहेका छन् । स्थानिय विषय (हाम्रो इन्द्रावती) मा न्युनतम ग्रेड प्राप्त गर्ने ३ सय ६५ जना रहेका छन् ।
पालिकाले मौका परिक्षाको लागि आउँदो आइतबार बाट पुनः परिक्षा लिने तयारी गरेको छ । मौका परिक्षामा ३ विषय सम्म फेल हुनेले सहभागी हुन पाउने भएका छन । पुनः परिक्षा सम्बन्धित विध्यालयले नै लिने बताइएकाे छ ।