अरुलाई गाली गरेर देश बन्न सक्दैन : मन्त्री दुलाल

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
बागमती प्रदेशका भौतिक पूर्वाधार बिकाश मन्त्री युवराज दुलालले अहिलेको अवस्थामा अरुलाई गाली गरेर देश नबन्ने बताउनुभएको छ । अब देश हामीले र हाम्रा विद्यार्थीहरुलेनै देश बनाउन सक्ने बताउनुभएको हो । साथै विदेश गएर देश नबन्ने स्पष्ट पार्दै मन्त्री दुलालले विद्यालय स्तरमै विद्यार्थी हरुलाई देश बनाउनका लागी मार्गनिर्देश गर्नुपर्ने बताउनुभयो । इष्ट पोइन्ट एकेडेमी हेलम्बु –४ शेराको ११ औं बार्षिकोत्सब, पुर्व प्राथमिक तहको दिक्षान्त एवम् अभिभावक दिवस कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मन्त्री दुलालले आफ्नो लागी मात्र नभएर समाज र देशको लागी सेवा गर्नपर्छ भन्ने भावको विकास हुनुपर्ने बताउनुभयो ।

उहाँले विद्यार्थीको इच्छा र आकाङ्क्षा अनुसार अगाडि बढ्नका लागी प्रेरित गर्नुपर्ने बताउनुभयो ।
उहाँले मेलम्ची बाढीले बगाएर ध्वस्त बनाएको विद्यालय यो अवस्था सम्म आएकोमा खुशी लागेको बताउनुभयो । उहाँले आम अभिभावक, विद्यार्थी र विद्यालय संचालक हरुमा एक्कासि आएको चुनौतीलाई पार गर्दै बालबालिकाको भविष्य उज्ज्वल बनाउन लागी विद्यालयले गरेको कार्य प्रशंसा योग्य रहेको बताउनुभयो ।

कार्यक्रममा हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले इष्ट पोइन्ट एकेडेमीले हेलम्बु शिक्षाको सवालमा शिर उच्च राखेको बताउनुभयो । आफ्नो बालबालिकाको भविष्य माथी खेलवाड नगर्नको लागी बनेका निति नियम भन्दा माथी उठेर आफ्नो छोरालाई इष्ट पोइन्टमा भर्ना गरेको प्रष्ट पार्नुभयो । उपाध्यक्ष लामिछानेले शिक्षक,अभिभावक र विद्यार्थीले शिक्षा क्षेत्रमा गरेको कामलाई यहाँका अन्य विद्यालयहरुले सिक्नुपर्ने बताउनुभयो । आफुले गरेका कामको बारेमा मुल्यांकन गर्न आग्रह गर्नुहुँदै उपाध्यक्ष लामिछानेले बाढीपछि विद्यालयले गरेको आँट र साहसको चर्चा गर्नुभयो ।

कार्यक्रममा हेलम्बुका समाजसेवी हस्त पण्डितले मानिस प्रगतिशिल र आसाको दियो बाल्न सक्ने प्राणी भएकाले नै बाढिले ध्वस्त भएको हेलम्बु र हेलम्बुको शिक्षालाई यो उचाई सम्म पुर्याउन संभव भएको बताउनुभयो । पण्डितले हेलम्बु प्राकृतिक रुपमा सम्पन्न र हराभरा रहे पनि बाटो,पुर्वाधार लगायत अन्य सुविधा नभएका कारण अहिले पर्यटक हेलम्बु आउन छाडेको बताउनुभयो । शिक्षामा लगानी गरेपनि त्यसको प्रतिफल पाउन नसकेको बताउनुभयो ।

कार्यक्रममा हेलम्बु गाउँपालिका शिक्षा शाखाका भिम कार्की, समाजसेवी अम्बरबहादुर पण्डित, मेलम्ची भ्याली क्याम्पसका अध्यक्ष दिपक लामिछाने, अन्य विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply