इन्द्रावतीका ४२ वटै विद्यालयको तर्फबाट  टाकुरे आगलागी पीडितलाई ५ लाख २५ हजार सहयोग

* # समाचार समाज सिन्धुपाल्चोक


रेडियो मिसन, नवलपुर 


इन्द्रावती गाउँपालिकाका सामुदायिक विद्यालयहरूले टाकुरे आगलागी पीडितलाई एकमुष्ठ ५ लाख २५ हजार ६ सय १६ रुपैयाँ सहयोग गरेका छन् । 


श्री टाकुरे आधारभूत विद्यालयका प्रधानाध्यापक श्री सावित्री सापकोटा गजुरेल को घर तथा कुखुराको टहरो पूर्णरुपमा क्षति भएकोमा इन्द्रावती गाउँपालिकाका शिक्षक कर्मचारीले दुख व्यक्त गरेका छन् । इन्द्रावती गाउँपालिका शिक्षक कर्मचारीको साझा समस्याको रुपमा लिएर पालिकामा क्रियाशील नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन तथा ४२ वटै विद्यालयको प्रधानाध्यपक र शिक्षक तथा कर्मचारीको पहलमा सो सहयोग रकम संकलन भएको हो ।  


सहयोग सङ्कलनका लागि श्री चण्डेश्वरी माविका प्रधानाध्यापक शिवराम न्यौपाने र श्री सूर्यकिरण आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर थापाले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । 


हस्तान्तरणको क्रममा बोल्दै इन्द्रावती गाउँपालिका शिक्षक महासङ्घका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले यस दुखद घडीमा सम्पूर्ण विद्यालय र शिक्षकहरूको तर्फबाट एकीकृत रुपमा सहयोग गरेको बताउनुभयो । एक एक गर्दा सहयोग ढिला हुने भएकाले पनि एकीकृत रुपमा सहयोगको वातावरण सृजना गरेको उहाँले बताउनुभयो । राहत सहयोग जतिसक्दो छिटो हुने गरी सम्पूर्ण शिक्षकहरू तथा विद्यालयका प्रधानाध्यापकहरूले सहयोग गरेको उहाँले बताउनुभयो । 


यस्तै हस्तान्तरणको क्रममा श्री सूर्यकिरण आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु बहादुर थापाले पेशागत रुपमा क्रियाशील शिक्षक संगठन र विद्यालयको तर्फबाट सहयोग संकलन गरेको जानकारी दिनुभयो । १९ गतेदेखि नै निरन्तर सहयोग रकम सङ्कलनमा साझा समस्याको रुपमा लिएर सहयोग गरिरहेको उहाँले जानकारी दिनुभयो । 


सहयोग हस्तान्तरण कार्यक्रममा इन्द्रावतीका विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता रहेको थियो । 


यही माघ १९ गते शुक्रबार इन्द्रावती ४ टाकुरेका रामकृष्ण गजुरेलको कुखुराको टहरोमा लागेको आगोबाट टहरोमा रहेका एक हजार कुखुरा सहित नजिकै रहेको ४ कोठे घर समेत जलेको थियो । आगलागीबाट अनुमानित ३५ लाख बराबरको क्षति भएको थियो । 

सहयाेगि विद्यालयहरुकाे सहयाेग विवरण :

Leave a Reply