इन्द्रावती गाउँपालिका वडा नम्बर १२ भिमटारका ५५९ परिवारलाई ५४९३ रोपनी जमिनको अस्थायी निस्सा प्रदान गरिएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकास मन्त्री युवराज दुलालले अस्थायी निस्सा वितरण गर्नुभएको हो ।
कार्यक्रमको अवसरमा बोल्दै मन्त्री दुलालले देशमा लामो समय राजनीति गरेपनि गरिबी र चरम शोषणको अन्त्य गर्न अझै बाँकी रहेको बताउनुभएको छ । जमिन जोत्नेको र कमाउनेको हुनुपर्छ भनेर लामो समयको प्रयासपछि यहाँसम्म आउन सकेको उहाँले बताउनुभयो । वर्षौँ देखि जोतेको र भोगचलन गरिरहेको जमिन पाउनु कानुनी र नैसर्गिक अधिकार भएको मन्त्री दुलालले बताउनुभएको छ । अहिले दिइएको अस्थायी पुर्जाको विकल्प पूर्ण अधिकार सहितको लालपुर्जा नै रहेकाले तिनै तहका सरकार एक भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सोही अवसरमा बोल्दै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले जोतभोग गर्नेले जमिनको अधिकार पाउनुपर्नेमा जोड दिनुभएको छ । भूमिहीनहरूको भूमि प्राप्त गर्नुपर्छ भनेर गाउँपालिका पनि लागिरहेको बताउनुभयो । ्
स्थानीय राम बहादुर दनुवारले बाउबाजेको पालादेखि भोगचलन गर्दै आएको जमिनको निस्सा पाएकोका खुसी व्यक्त गर्नुभयो । जमिनको निस्सा नहुँदा जमिन कसको हो भन्ने नै निर्क्यौल नहुँदा विवाद भइरहने उहाँले बताउनुभयो ।
इन्द्रावती १२ को आयोजना र भूमि अधिकार आयोगको समन्वयमा कार्यक्रम भएको भूमि अधिकार आयोगका जिल्ला अध्यक्ष झम्क पराजुलीले जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला नापी कार्यालयका प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधिहरू लगायत स्थानीयको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।