नवलपुर । बागमती प्रदेश सभा र स्थानीय तहबीच कानुन कार्यान्वयनमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायबारे छलफल गर्ने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बागमती प्रदेश सभा सचिवालयको आयोजनामा इन्द्रावती गाउँपालिकामा सम्पन्न कार्यक्रममा संघीयताका उपलब्धि, विभिन्न क्षेत्रमा भएका प्रगति, संघीय संरचनाको प्रकृति, विशेषता तथा विशिष्टता र संघीयताका सिद्धान्तलगायतका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा संविधानसभा सदस्य, संविधानविद् तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले सहजीकरण गर्नुभएको थियो। उहाँले संघीयताको मर्म, संविधानले व्यवस्था गरेका अधिकार तथा तीन तहका सरकारबीचको सम्बन्ध र कानुन कार्यान्वयनका विषयमा सहजीकरण गर्नुभएको थियो।
कार्यक्रममा बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईंले प्रदेश सभा र प्रदेश सरकार फरक संरचना भएको स्पष्ट पार्दै प्रदेश सभाले गर्ने काम, प्रदेश सरकार निर्माण प्रक्रिया, नीति तथा कार्यक्रम र बजेट पारित गर्ने भूमिका तथा सरकारको कामको मूल्यांकनबारे जानकारी गराउनुभयो। उहाँले जनताका समस्या सभामा उठाउने र छलफल गर्ने प्रदेश सभाको महत्वपूर्ण जिम्मेवारी रहेको बताउनुभयो।
आजको अन्तरक्रियामा १७ वटा विषय उठान भएको जानकारी दिँदै उहाँले राष्ट्रिय महत्व बोकेको तथा विविध भाषाभाषी र समुदायको बसोबास रहेको बागमती प्रदेशमा यस्ता कार्यक्रम वडा तहसम्म पुर्याउने योजना रहेको बताउनुभयो। कार्यक्रममा उठेका विषयहरूको समाधान तथा कार्यान्वयनका लागि प्रदेश सभाले आवश्यक समन्वय र पहल गर्ने उहाँको भनाइ थियो।
त्यस्तै, प्रदेश सभा सदस्य कुमारी तामाङले आपसमा बाझिएका कानुन स्वतः खारेज हुने व्यवस्था रहेको उल्लेख गर्दै प्रदेशले सबै स्थानीय तहलाई समान व्यवहार गर्नुपर्ने बताउनुभयो। बजेट आवश्यक पर्दा मात्रै प्रदेशलाई सम्झिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो। स्थानीय तहले पाएको अधिकार कार्यान्वयन भए–नभएको विषयमा समेत ध्यान दिनुपर्ने बताउँदै उहाँले किसानका समस्या अझै समाधान हुन नसकेको र किसान मारमा परेको गुनासो कायमै रहेको उल्लेख गर्नुभयो। पार्टीगत दृष्टिकोणभन्दा माथि उठेर समन्वय र सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालले गाउँपालिकामा यस्तो महत्वपूर्ण कार्यक्रम आयोजना हुनु गौरवको विषय भएको बताउनुभयो। संघ, प्रदेश र स्थानीय तहका कानुनबीच बाझिने अवस्था रहेकाले संघ र प्रदेशका कानुनसँग नबाझिने गरी गाउँपालिकाले कानुन निर्माण गरेको उहाँले जानकारी दिनुभयो। संघीयताको उपयोग मात्रै नभई यसको विकास र कार्यान्वयनमा स्थानीय तहले योगदानसमेत दिइरहेको उल्लेख गर्दै संघीयताको भावना र मर्मअनुसार काम हुन नसक्दा विभिन्न समस्या उत्पन्न भएको उहाँको भनाइ थियो।
गाउँपालिका उपाध्यक्ष शोभना तामाङले प्रदेश सरकारको बजेटबाट सञ्चालित विकास निर्माणका योजनाको अनुगमनमा स्थानीय तहसँग आवश्यक समन्वय हुन नसकेको बताउनुभयो। आगामी दिनमा पनि यस्ता अन्तरक्रिया कार्यक्रम नियमित रूपमा आयोजना गर्नुपर्ने उहाँले धारणा राख्नुभयो।
त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले नियम, कानुन तथा अधिकार दोहोरिँदा स्थानीय तहलाई कार्यसम्पादनमा बाधा तथा व्यवधान भइरहेको बताउनुभयो। यस्ता समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्नुपर्ने उहाँले जोड दिनुभयो।
कार्यक्रममा प्रदेश उपसभामुख अप्सरा चापागाईं, प्रदेश सभा सचिव रामकुमार पौडेल, प्रदेश सभा सदस्य कुमारी तामाङ, इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपाल, उपाध्यक्ष शोभना तामाङ, प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडी, विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी, प्रहरी तथा पत्रकारलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा तीनै तहका सरकारबीच कानुनी स्पष्टता, अधिकारको प्रभावकारी कार्यान्वयन तथा आपसी समन्वय र सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिइएको थियो।
