रेडियो मिसन, मेलम्ची ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तिपुरको आयोजनामा सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरिएको निस्शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य सिविर तथा औषधि वितरण कार्यक्रममा एक हजार २ सय भन्दा बढी स्थानिय बासिन्दाले सेवा लिएका छन ।
स्वास्थ्य सिविरमा पेट सम्बन्धी रोग, पिनास, मधुमेह, पंचकर्म, भिडियो एक्सरे, छाला सम्बन्धी रोग, फिजियो थेरापी सहितका सेवा र निशुल्क औषधि समेत बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले आयुर्वेद पद्वतिबाट उपचार गर्दा साइड इफेक्ट नहुने र यो उपचार भरपर्दो पनि भएको बताउनुभएको छ । मिर्गौला फेल भएका विरामीको सुविधाका लागि चौतारामा ५ वटा डाइलासिस मेसिन पुगिसकेको र केही दिनमै सेवा सुरु हुने मन्त्री बस्नेतले बताउनुभएको छ ।
पैसा नभएका कारण कुनै पनि नेपालीले उपचार सेवाबाट बन्चित हुन नपरोस भन्ने उद्घोषका साथ आफुले काम गरिरहेको बताउदै मन्त्री बस्नेतले निकट भविश्यमै चिकित्सा शिक्षा ऐन संसोधन गरेर चिकित्सा शिक्षामा कोटा बढाएर स्वदेशमै पढ्न पाउने वातावरण बनाउन लागेको जानकारी दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामआधार यादवले धेरैजसो रोगको उपचार आयुर्वेद पद्वतिको माध्यमबाट गर्न सकिने भए पनि त्यसको महत्व बुझ्न र बुझाउन नसक्दा समस्या देखिएको बताउनुभयो । पेट सम्बन्धी समस्याका कारण धेरैजसो रोग लाग्ने गरेको बताउदै डा.यादवले आयुर्वेद पद्वतिबाट हुने उपचारले पेट सम्बन्धी रोग निको हुने दावी गर्नुभयो ।
कार्यक्रममा बाग्मती प्रदेशका सभासद कृष्णकुमार तामाङ, पूर्व गृहराज्यमन्त्री विष्णु विक्रम थापा मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ लगायतको उपस्थिति रहेको थियो ।