३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा मेलम्ची नगरपालिकाले अन्तरक्रियात्मक कार्यक्रम गरेको । “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता“ भन्ने नारा सहित कार्यक्रम गरिएको हो ।
कार्यक्रमको समापन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले प्याकेजको कार्यक्रमहरू नगरपालिकामा आएमा हामी बजेटको व्यवस्था गर्ने बताउनुभयो । योग्यता र क्षमता अनुसारका रोजगारीको लागि विभिन्न समयमा आवेदन खुल्ने गर्ने भएकोले त्यसमा जोडिन आह्वान गर्नुभयो । मेलम्ची नगरपालिकामा यसै वर्ष बाट साङ्केतिक भाषा प्रयोग गरेने दोभासे नियुक्ति गर्ने बताउँदै विद्यालयहरूमा दोभासे चाहिएमा पनि हामी उपलब्ध गराउने उहाँले बताउनुभयो । २० गते अपाङ्गता भएका व्यक्तिहरूलाई घर घरमै गएर स्वास्थ्य सेवा दिने बताउँदै मेलम्ची नगरपालिकामा अर्को वर्ष सम्म लिफ्ट जडान गर्ने जानकारी दिनुभयो । पहिलो वर्ष कानुनी कुराहरू सिक्दै गएको र अबको बाँकी समय सबै क्षेत्र समेटेर विकासका कामहरू अघि बढाउने उहाँले स्पष्ट पार्नुभयो ।
मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले अपाङ्गता भएका व्यक्तिहरू पनि अरू सरह क्षमता राख्ने व्यक्ति भएको बताउँदै अर्को वर्ष कार्यक्रम गर्दा भौतिक संरचनालाई व्यवस्थित र अपाङ्ग मैत्री बनाउने बताउनुभयो । आगामी दिनहरूमा कार्यक्रमहरूलाई थप समावेशी बनाउँदै लैजाने उहाँको भनाई छ ।
मेलम्ची नगरपालिकाका पूर्व उप प्रमुख भगवती नेपालले मेलम्ची नगरपालिकाको भवन अपाङ्गमैत्री नभएको बताउनुभयो । अघिल्लो कार्यकालमा लिफ्ट राख्न खोजे पनि नसकेको र अहिले सम्म पनि अवस्था त्यस्तै रहेकोले नगरपालिकाले त्यसमा ध्यान दिन सुझाव दिनुभयो । साथै अघिल्लो कार्यकालमा दोभासे नपाएर बाह्रबिसे बाट ल्याएका स्मरण गर्दै अहिले दोभासे (साङकेतीक भाषा) मेलम्ची नगरपालिकामै रहेको बताउँदै आवश्यकतामा आधारित, कार्यक्रम बनाउन पनि नगरपालिकालाई सुझाव दिनुभयो ।
३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूलाई सरकारले दिएको सेवा सुविधा, कानुनी व्यवस्था लगायतको बारेमा मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले प्रस्तुति दिनुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै अपाङ्ग सङ्घ मेलम्ची नगरपालिका अध्यक्ष सोम कुमार दुलालले अपाङ्गहरूलाई राज्यले दयाको पात्रको रूपमा हेर्ने गरेको आरोप लगाउनुभयो । आफूहरूलाई बाध्यात्मक परिस्थितिमा मात्र हेर्ने गरेको बताउँदै उहाँले अपाङ्गता भएका व्यक्तिहरूको जीवनमा परिवर्तन नभएको बताउनुभयो ।
“हामी शिक्षा, स्वास्थ्य र रोजगार जस्ता कुराहरू बाटै वञ्चित भएका छौँ, निःशुल्क शिक्षा नाममा मात्र सिमात छ, स्वास्थ्य सुविधा सरकारले दिएको भनेको छ तर हामी स्वास्थ्य संस्था सम्म पहुँच पुगेको छैन ।” उहाँले भन्नुभयो, नगरभित्र आएका सङ्घ संस्थाले पनि हामी सँग समन्वय नगरी कार्यक्रम गरेका छन्, त्यसमा नगरपालिकाले पनि समन्वय गरिदियोस् र अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता बुझेर कार्यक्रमहरू नगरपालिकाले गर्न उहाँले माग गर्नुभयो ।
कार्यक्रममा ३ जनाको सफलताको कथा सुनाइएको थियो । उनीहरू कसरी अशक्त भए र सङ्घर्ष पश्चात् कसरी सफल प्राप्त गरे भन्ने विषयमा प्रस्तुति दिइएको थियो । आफू कसरी सक्षम भएँ भनेर अपाङ्गता भएका व्यक्तिहरूले कथा प्रस्तुत गरेका थिए । कार्यक्रममा सङ्घ संस्थाका प्रतिनिधि, बाल सञ्जालका प्रतिनिधि, अपाङ्ग सङ्घका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सबैको राय सल्लाह सुझाव लिइएको थियो । स्थानीय कमला चालिसेले २ जना साङ्केतिक शिक्षक माग गर्नुभएको थियो । सोको जवाफ मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङ र प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले दिनुभएको थियो ।
कार्यक्रमको सभापतित्व नगरप्रमुख आइतमान तामाङले गर्नुभएको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका पूर्व उपप्रमुख भगवती नेपाल, निर्वाचित वडा अध्यक्ष, कार्यपालिका सदस्य, लगायत उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको सञ्चालन नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले गर्नुभएको थियो ।