सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक इन्द्रावतीमा स्थानीय पाठ्यपुस्तक वितरण

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक इन्द्रावती गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक वितरण गरेको छ । आज एक कार्यक्रम गरी पालिकाभित्र रहेका ४२ वटै विद्यालयका कक्षा १ देखी ८ सम्मको पाठ्यपुस्तक वितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाले ड्राफ्ट गरेको पाठ्यपुस्तक विद्यार्थीसम्म लैजाने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो । कक्षा १ देखि ८ सम्म पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सिङ्गो गाउँपालिकाको ऐना भएको उहाँले बताउनुभयो । सिकाई उपलब्धि एक शैक्षिक सत्रमा १५ प्रतिशत बढाएको बताउँदै आगामी वर्ष ७० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको नेपालले बताउनुभयो । आम समृद्धिका लागि शैक्षिक समृद्धि प्राप्त गर्न पालिकाको एक तिहाइ बजेट खर्च गरिरहेको पनि अध्यक्ष नेपालले बताउनुभयो । समय सापेक्ष पाठ्यपुस्तकको परिमार्जन गर्नुपर्ने साथै केही नयाँ एजेन्डाहरूलाई समावेश गरेर लैजाने उहाँले बताउनुभयो । आगामी शैक्षिक सत्रबाट एक शैक्षिक सत्र नसकिँदासम्म सरुवा नगराउने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले गाउँपालिका शिक्षा क्षेत्रमा एक पाइला अधि बढ्न सफल भएको बताउनुभयो । विद्यालयको भौतिक पूर्वाधार निर्माणको काम सकिएकोले अब विषय शिक्षकहरू भएको सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न तत्पर हुनुपर्ने बताउनुभयो । स्थानीय जनशक्तिले काम गरिरहँदा मूल पेसामा असर पुगिरहेको पनि उहाँले बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले विद्यालयमा पठन पाठन सुरु भएपछि आएका प्रतिक्रियालाई पनि समेटेर लैजाने बताउनुभएको छ । गाउँपालिकाका ऐतिहासिक तथा धार्मिक स्थलहरू प्रचार बिना ओझेलमा परेको उहाँले बताउनुभयो । विभिन्न धर्म जातजाति तथा मौलिक संस्कृतिको जगेर्ना गर्न यो पाठ्यपुस्तक महत्त्वपूर्ण हुने उहाँको भनाई छ ।

कार्यक्रमको अवसरमा बोल्दै न्यायिक समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले विमोचन भएका पाठ्यपुस्तक विद्यालयमा जाँदा भए गरेका कमी कमजोरी आगामी दिनमा सुधार गर्दै लानुपर्नेमा जोड दिनुभएको छ । पालिकामा बोलिने मातृभाषा र मानिने संस्कृतिको जगेर्ना गर्न यो पाठ्यपुस्तकले सहयोग पुग्ने उहाँको भनाई छ । शिक्षाको सवालमा पालिका सरकार, विद्यालय परिवार तथा विद्यार्थी र अभिभावक सबैको भूमिका रहने उहाँले बताउनुभयो । पालिकाले जारी गरेको पाठ्यपुस्तक लागू गर्न आफूले सक्दो सहयोग गर्ने उहाँले बताउनुभयो ।

यस्तै प्रधानाध्यापकहरूको नेतृत्व गर्दै शिम्पालेश्वरी माविका नवराज खरेलले तीन वर्ष अधि बाट सुरु भएको अभियान पुरा भएको बताउनुभयो । लामो समयको परिश्रम र मेहनतले आएको पाठ्यपुस्तकमा एकरूपता हुनुपर्नेमा जोड दिनुभएको छ । अब कार्यान्वयन गराउन सबै एक भएर लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका सभापति तथा इन्द्रावती गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मीन बहादुर धामीले गाउँपालिकाको भौगोलिक, प्राकृतिक, धार्मिक, र सांस्कृतिक विषय समेटिएको पाठ्यपुस्तक सार्वजनिक गरिएको बताउनुभयो । २०८० को शैक्षिक सत्र देखी पाठ्यक्रम लागू भई जिल्लामै पहिलो पटक पाठ्यपुस्तक निर्माण गर्न सफल भएको उहाँले जानकारी दिनुभयो ।

पाठ्यपुस्तक तयार गर्न सहयोग गर्ने शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागितामा भएको कार्यक्रम बालमैत्री सहजकर्ता संयोजक नि-इन्द्र आचार्यले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply