एकीकृत समाजवादी जिल्ला कमिटी सदस्य बेलबहादुर महत सहित १ सय १० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्णप्रसाद सापकोटा, हिमाल शर्मा र प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका माधव सापकोटा सुवोधले स्वागत गर्नुभएको हो ।
नेता महतसँगै समाजवादी, एमाले र काँग्रेस छोडेर अन्य सय १० जनाले एकैचोटी पार्टी प्रवेश गरेका माओवादी सिन्धुपाल्चोकले जनाएको छ । माओवादीमा प्रवेश गरेका महत २०४८ सालदेखि एमालेमा सकृय रहँदै २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट चौतारा साँगाचोकगढी नगरपालिका वडा न १० का विजयी वडा अध्यक्ष पनि हुनुहुन्छ । एमाले पार्टी टुक्रिएसँगै माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा रहँदै आउनु भएको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य एवम् चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटा देशवन्धुले विचार र सिद्धान्तले माओवादी अझै अरु दलभन्दा अब्बल रहेको दावी गर्नुभएको छ ।
सोही कार्यक्रमलाई सम्बोधन गदै केन्द्रीय सदस्य एवम् रुपान्तरण अभियान सिन्धुपाल्चोकका संयोजक हिमाल शर्माले पहिला माओवादीसँग जनता रहेको र बीचमा माओवादीहरु जनताबाट टाढा हुँदै गएको महसुस गर्दै अहिले जनतासँग माओवादी रहने उदेश्यका साथ ३ महिने अभियान थालेको बताउनुभयो ।
केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले नेतामुखी बन्दै गएको पार्टीलाई जनतामुखी पार्टी बनाउने उदेश्य अनुरुपमा विशेष अभियान थालेको बताउनुभयो । व्यवस्था नै नरहेपछि हालसम्मका संपूर्ण उपलव्धी नै गुम्ने खतरा बढेको भन्दै केन्द्रीय सदस्य सापकोटाले गणतन्त्रणलाई संस्थागत गर्न र प्राप्त उपलव्धीलाई संस्थागत गर्न माओवादी नै पहिले रुपान्तरण हुनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रम जनतासँग माओवादी रुपान्तरण अभियान अन्तर्गत बुधबार सिन्धुपाल्चोक, चौतारा शहीद स्मृति भवनमा भएको हो । जनजनमा माओवादी, मनमनमा माओवादी नाराका साथ गत भदौ १८ गतेबाट सुरु भएको जनतासँग माओवादी विशेष रुपान्तरण अभियान जिल्ला, पालिका हुँदै वडातहसम्म पुगेको छ ।