रेडियो मिसन ।
मेलम्ची हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची नगरपालिका भित्रपर्ने मेलम्ची-तालामाराङ सडक मर्मत संभारको काम सुरु भएको छ । बर्षाका कारण हिलो, खाल्डाखुल्डी र सडकमा गेग्रिन जमेर आवतजावतमा समस्या भएको गुनासो आएपछि नगरप्रमुख आइतमान तामाङ,प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्र, योजना शाखाका प्रमुख रामकुमार केसी, इन्जिनियर शंकर गिरी लगायतले आज सो सडकको अनुगमन गर्नुभएको थियो ।
अनुगमन पश्चात नगर प्रमुख तामाङले तत्काल सडक मर्मतको काम गर्न निर्देशन दिनुभयो ।अहिले मेलम्ची फट्टेदेखि सडक सुधारको काम सुरु भइसकेको इन्जिनियर शंकर गिरीले जानकारी दिनुभयो । सघं र प्रदेश सरकारले बनाउन पर्ने सडक नबनाएपछि स्थानियको समस्यालाई मध्यनजर गर्दै नगरपालिका आफैंले मर्मतको काम सुरु गरेको नगर प्रमुख तामाङले बताउनुभयो ।
नगरपालिकाको अन्य सडकहरु नगरपालिकाले हेर्नेभएपनि मुख्य सडकमा सडक डिभिजन बाट काम हुनुपर्ने प्रमुख तामाङले बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत मिश्रले नगरपालिकाले तत्कालको समस्या मात्र समाधान गर्ने र यातायातका साधनहरु आवतजावतमा सहज बनाइदिने काम मात्र नगरपालिकाले गर्ने बताउनुभयो । सडक डिभिजनले गर्नुपर्नेकाम स्थानिय तहले गर्ननहुने भन्दै सडक डिभिजनसँग समन्वय गर्ने बताउनुभयो ।