रेडियो मिसन ।
मेलम्ची खोलामा आएको बाढीका कारण क्षतीग्रस्त सडक सञ्जाल पुन: निर्माणको काम सुरु भएको छ । शनिवार र आइतवारमा परेको अबिरल वर्षाका कारण आएको बाढीले हेलम्बु जोड्ने सडक बिभिन्न ठाउँमा क्षति पुर्यएको थियो । अहिले खोलाको बहाव घटेसँगै गाउँपालिका तथा वडाको सक्रियतामा क्षति पुगेका सडकहरु पुनः सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ । मेलम्ची – हेलम्बु सडक अन्तर्गत ग्याल्थुमको ढुङ्ग्रे बजार नजिकै सडक खुलाउन प्रयास शुरु गरिएको हो ।
पानी पर्न रोकिइ खोलाको वहाब केहि कम भएकोले उक्त स्थानमा सडक खुलाउन शुरु गरिएको हेलम्बु ४ का वडाध्यक्ष बुद्धिमान तामाङले बताउनुभयो ।
अहिले २ वटा स्काभेटरले काम गरिरहेको र दुइवटा थप स्काभेटर प्रयोग गरि ग्याल्थुमबाट चिलाउनेघारी तिरको सडकमा समेत काम थालिने वडाध्यक्ष तामाङले बताउनुभयो । पहिलो चरणमा सडकको भागबाट बगिरहेको नदिलाइ पुरानै स्थानमा फर्काउन प्रयास गरिने र सो प्रयास सफल भएमा अस्थायी रुपमा आवातजावत गर्न मिल्ने गरि सडक सञ्चालनमा आएको बताइएको छ ।
ग्याल्थुमबाट चिलाउनेघारी तिरको सडक कटान हुँदा ग्याल्थुम बजार समेत उच्च जोखिममा छ । ग्याल्थुम बजारको जोखिम घटाउदैं सडक समेत सञ्चालन गर्ने तथा नदिको धार फर्काउने गरि काम गर्न आफुले निर्देशन दिइसकेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । नदिमा थप बाढी नआएमा बढीमा एक हप्ताभित्र मेलम्ची-हेलम्बु सडक पुर्ण रुपमा सञ्चालनमा आउनेछ ।
बाढीले ग्याल्थुम बजारको दायाँबायाँ र चनौटेमा समेत गरि तीनवटा स्थानमा सडक पुर्णरुपमा कटान गरेको छ । जसको कारण हेलम्बु गाउँपालिका राष्ट्रिय सडक सञ्जालबाट विच्छेद भएको छ ।