मेलम्ची ।
आन्तरिक स्रोतबाट मोटेरेवल पुल निर्माण गर्ने निर्णय गरेको मेलम्ची नगरपालिकाले पुलबन्ने स्थान फट्टेमा संभाब्यता अध्ययनको लागि निरिक्षण गरेको छ ।
नगरपालिकाको गत आइतबार बसेको कार्यपालिका बैठकले नगरपालिकाको आन्तरिक स्रोतबाट मेलम्ची बजारमा पुल निर्माण गर्ने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो । सो निर्णय अनुसार आज मंगरबार पुलबन्ने स्थान फट्टेमा संभाब्यता अध्ययनको लागि निरिक्षण गरिएको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो ।
केन्द्र र प्रदेश सरकारलाई दुई बर्षसम्म हारगुहार गर्दा पनि पक्की मोटेरेवल पुल निर्माणमा चासो नदिएपछि नगरपालिका आफैँले पुल निर्माण गर्न लागिएको नगर प्रमुख तामाङले बताउनुभयो । अहिले संभाब्यता अध्ययनको लागि निरिक्षण गरिएको र छिट्टै अध्ययन सम्पन्न भएपश्चात् डिपिआरको प्रक्रिया अगाडी बढाउने प्रमुख तामाङले बताउनुभयो । बिस्तृत प्राविधिक अध्ययन पछि सम्बन्धीत निकायबाट स्वीकृति लिएपछि निमार्ण प्रक्रिया अगाडि बढ्ने इन्जिनियर जितबहादुर कार्किले बताउनुभयो ।
विधिक हिसाबले अध्ययन गरिसकेपछि प्रदेश र सघं सरकार सँग समन्वय गर्दै अगाडि बढ्ने नगरपालिकाले जनाएको छ । स्थानीयको जनगुनासोलाइ छिटो सम्बोधन गर्न तिव्र गतिमा पुल निमार्णको प्रक्रिया अगाडि बढ्ने उपप्रमुख उमा प्रधानले बताउनुभयो ।
देशभरिकै स्थानिय तह मध्य मेलम्ची नगरपालिकाले आन्तरिक स्रोतबाट पुल निर्माण गर्न लागेको पहिलोपटक हो । अधिकांश स्थानीय तहमा केन्द्र र प्रदेश सरकारले पुल निर्माणको लागि बजेट बिनियोजन गर्ने गरेको भएपनि मेलम्ची नगरपालिकाको मागलाई सघं र प्रदेश सरकारले बेवास्ता गरेपछि केन्द्र र प्रदेश सरकारको मुख नताकी जनताको समस्यालाई मध्यनजर गर्दै आफ्नै स्रोतबाट पुल निर्माण गर्न लागिएको वडा नम्बर ८ का वडा अध्यक्ष जित बहादुर तामाङले बताउनुभयो ।
हिउँदको समयमा ह्युम पाइप राखेर अस्थाई रुपमा आवतजावतमा सहजभएपनि बर्खाको समयमा पुल नहुँदा निकै समस्या खेप्न परेको भन्दै यथासिघ्र पुल निमार्णको कामलाई तिव्र गतिमा अगाडि बढाउन पर्ने वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ तामाङले बताउनुभयो ।
मेलम्ची बजार नजिकै फट्टेमा बनेको पुल २०७८ असार १ को मेलम्ची खोलामा आएको बाढीले बगाएपछि सो स्थानमा पक्की पुल निर्माण गर्न लागिएको हो । मेलम्ची नगरपालिका हँुदै मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका र हेलम्बु गाउँपलिका सम्म जोड्न सकिने पुल बगाएपछि स्थानीयले बर्खाको समयमा सास्ती झेल्नुपरिरहेको छ ।
त्यसै बेला अर्को पुल बगाएको इन्दावती नदिमा बेलिबृज निर्माण भइसकेको छ भने, हेलम्बु जोड्ने चनौटे बजारमा समेत बेलिबृज निर्माण भएको छ । निरिक्षणका लागि नगर प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान, वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ दोङ, प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल, लेखा अधिकृत मुरारी पुडासैनी, मेलम्ची नगरपालिकाका इन्जिनियर जित बहादुर कार्की, प्राबिधिक टिम पदम तामाङ, सन्तोष गुप्ता लगायतको उपस्थिती रहेको थियो ।