रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा आज एक दिने निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुपाल्चोकको आयोजना तथा ईन्द्रावती गाउँपालिकाको समन्वयमा भएको शिबिरमा २७६ जनाले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ बैद्य नर्मदा चापागाईले जानकारी दिनुभयो ।
नवलपुर प्राथमिक अस्पताल नवलपुरमा भएको शिविरमा बाथ, पाइल्स, स्त्रीरोग, ग्यास्ट्रिक लगायत विविध रोग सम्बन्धी अकुपञ्चर र पूर्वकर्म, पञ्चकर्मका स्नेहन/स्वेदन सेवा प्रदान गरिनुका साथै चेक जाँच र औषधी बितरण गरिएको थियो । शिविरमा बढी मात्रामा बाथ, ग्याष्ट्रिक, पायल्स र पेट सम्बन्धी समस्या भएका बिरामीहरुले सेवा लिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका बैद्य निरिक्षक रबिन्द्र भट्टराईले जानकारी दिनुभयो ।
केन्द्रले हरेक वर्ष जिल्लाका आयुर्वेदको शाखा नभएका बिभिन्न स्थानमा यस्तै शिविर गर्दै आएको पनि उहाँले बताउनुभयो । आयुर्वेदिक औषधी अन्य औषधी भन्दा प्रभावकारी रहेको र ढिला लाग्ने भएपनि दिर्घकालिन रुपमा यसको असर देखा पर्ने बैद्य निरिक्षक भट्टराई भनाई छ ।