सार्वजनिक यातायातमा छुटको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा अनेरास्ववियुको ज्ञापन पत्र

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

चौतारा ।

सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई छुटको माग गर्दै अनेरास्ववियु सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय चौतारामा सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयका प्रमुख वेदनिधि खनाललाई जिल्लामा चल्ने सार्वजनिक यातायातको भाडामा विद्यार्थीहरूलाई छुटको माग गर्दै ध्यानाकर्षणसहित ज्ञापन पत्र बुझाइएको हो ।

‘विद्यार्थी आन्दोलनको उपलब्धिस्वरुप राज्यबाट सार्वजनिक यातायातमा पाउँदै आएको छुटको व्यवस्था सिन्धुपाल्चोकमा चल्ने सार्वजनिक यातायातमा पनि लागू हुनुपर्छ भनेर हामीले ध्यानाकर्षण बुझाएका हौँ’,अनेरास्ववियु सिन्धुपाल्चोकका सह–सचिव नविन पाण्डेले बताउनुभयो ।
उहाँले सिन्धुपाल्चोक जिल्लाअन्तर्गत चल्ने सबै यातायात सेवा र व्यवसायीहरूलाई ध्यानाकर्षण पत्र बुझाइसकेको बताउनुभयो । नजिकिँदै गरेको दसैँ र तिहारलाई समेत लक्षित गरी विद्यार्थीहरू यो समयमा अध्ययनको सिलसिलामा राजधानीबाट जिल्ला फर्कने क्रम बढ्ने भएकाले तत्काल यो विषयलाई कार्यान्वयन गर्न खबरदारी गरिएको सहसचिव पाण्डेले बताउनुभयो । यो मागलाई तत्काल कार्यान्वयन नगरे अनेरास्ववियु कडा आन्दोलनमा उत्रने पाण्डेले बताउनुभयो ।
अनेरास्ववियुले बुझाएको पत्र बुझ्दै प्रमुख खनालले सार्वजनिक यातायातमा भाडा छुट कार्यान्वयनका लागि आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

Leave a Reply