इन्द्रावती बहुमुखी क्याम्पस मेलम्ची–११ को वार्षिक क्याम्पस सभा, १९औँ स्थापना दिवस तथा सञ्चालक समिति गठन कार्यक्रम सम्पन्न भएको छ । सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य युवराज दुलाल ‘शरद’को प्रमुख आतिथ्य तथा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सीपी दुलालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बागमती प्रदेशका पूर्व राज्यमन्त्री इन्द्रमाया गुरुङ, मेलम्ची नगरपालिकाका पूर्व प्रमुख डम्बर अर्याललगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि दुलालले स्थानीयस्तरमै गुणस्तरीय उच्च शिक्षा उपलब्ध गराउन इन्द्रावती बहुमुखी क्याम्पसले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि स्थानीय सरकार, समुदाय र सरोकारवाला सबै पक्षबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।
मेलम्ची नगरपालिकाका पूर्व प्रमुख डम्बर अर्यालले क्याम्पसलाई यस क्षेत्रको शैक्षिक विकासको महत्वपूर्ण आधारका रूपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । स्थानीय विद्यार्थीलाई आफ्नै क्षेत्रमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गर्न क्याम्पसको गुणस्तर र पूर्वाधार विकासमा निरन्तर ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
त्यस्तै पब्लिक क्याम्पस बागमती प्रदेशका अध्यक्ष शैलेन्द्र कुइकेलले बिषय र भुगोलको आधारमा क्याम्पस संचालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष एकलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले क्याम्पसको स्थापना र विकासमा योगदान पुर्याउने सबैप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा क्याम्पसलाई थप व्यवस्थित र गुणस्तरीय बनाउँदै लैजान सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा क्याम्पसको विगतको प्रगति, वर्तमान अवस्था तथा आगामी शैक्षिक योजनाका विषयमा समेत छलफल गरिएको थियो । १९औँ स्थापना दिवसका अवसरमा क्याम्पसको शैक्षिक उन्नति, संस्थागत सुदृढीकरण र विद्यार्थीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिने क्याम्पस प्रमुख राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम क्याम्पस सञ्चालक समिति अध्यक्ष सीपी दुलालको अध्यक्षतामा सम्पन्न भएको हो भने सञ्चालन यादव दुलालले गर्नुभएको थियो । कार्यक्रममा १०१ जना भन्दा धेरै नयाँ आजीवन सदस्यलाई सम्मान गरिएको दुलालले जानकारी दिनुभयो । नयाँ पदाधिकारी चयनको लागी अध्यक्ष ५ जनाले आकाङ्क्षा राखेपछि हाललाई बन्दसत्र स्थगित भएको छ ।
