जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजनामा जिल्लाका विभिन्न विद्यालयमा आयोजित नि:शुल्क स्वास्थ्य शिविरबाट एक हजार ८५ विद्यार्थी लाभान्वित भएका छन ।
बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयको यस आर्थिक बर्षमा संचालित नमुना कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा बालबालिकाहरुको श्रवण, दृष्टि(चस्मा समेत), दन्त परीक्षण छाला उपचार र रक्त समुह पहिचान र बाथ रोग /मुटु रोग (RHD) स्क्रीनिङ सम्बन्धि नि:शुल्क शिविर गत पुष १३ गते जुगल गाउँपालिका स्थित रत्नराज्य माध्यमिक विद्यालय त्यस्तै पुष १४ गते भिमसेन माध्यमिक विद्यालय , पुष २८ गते लिसंखुपाखर गाउँपालिकाको ककलिङ हरिसिद्दि माध्यमिक विद्यालय , पुष २९ गते बलेफी गाँउपालिका स्थित बनसांघु माध्यमिक विद्यालय र पौष ३० गते इन्द्रावती गाउँपालिका स्थित ऐँसेलुखर्क माध्यमिक विद्यालयमा सम्पन्न भएको हो ।
रत्नराज्य माबिमा छात्र १७५ र छात्रा १४५, भिमसेन माबिमा छात्र ९९ र छात्रा १०३, ककलिङ हरिसिद्दि माबिमा छात्र ४८ र छात्रा ५२ वनसाघुँ माबिमा छात्र ७३ छात्रा ६८ र एंसेलुखर्क माबिमा छात्र १३२ र छात्रा १९४ जना गरि १०८५ विद्यार्थी र १५० स्थानीयको शिविरमा जाँच तथा उपचार गरिएको जनस्वास्थ्य कार्यालयकी स्टाफ नर्स प्रकृति केसीले जानकारी दिनुभयो ।
बालबालिकाहरुको श्रवण,दृष्टि तथा दन्त परीक्षण र उपचार व्यवस्थापन गर्ने तथा बालबालिकाहरुमा भविष्यमा हुन सक्ने बाथ रोग /मुटु रोग(RHD) को स्क्रीनिङ गर्ने र समयमै पहिचान गरि व्यवस्थापन गर्ने उदेश्यले विशेषज्ञ डाक्टरको सहभागीतामा शिविर आयोजना गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गा बजगाईले जानकारी दिनुभयो ।
दृष्टि परिक्षण पश्चात चस्मा आवश्यक पर्ने बालबालिकालाई चस्मा उपलब्ध गराइएको थियो भने स्क्रीनिङ पश्चात थप उपचार आवश्यक परेमा नि:शुल्क उपचार व्यवस्थापनका लागि प्रादेशिक अस्पतालमा प्रेषण गरिने बजगाईले बताउनुभयो ।
शिविरमा सम्बन्धित पालिकाको समन्वय र विशेषज्ञ सहितको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो ।
