मेलम्चीमा जलवायु तथा ऊर्जा उत्थानशिलताका लागि ’बिकन’ (BEACON) परियोजनाको शुभारम्भ

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र नवीकरणीय ऊर्जाको प्रवद्र्धन गर्ने उद्देश्यका साथ मेलम्ची नगरपालिकामा “नेपालमा जलवायु तथा ऊर्जा उत्थानशिलताका लागि समुदाय र राष्ट्रिय कार्यहरूको सहकार्य परियोजना“ (BEACON) को औपचारिक शुभारम्भ तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। प्रकृति रिसोर्सेस सेन्टर (PRC) को आयोजना र मेलम्ची नगरपालिकाको समन्वयमा सो कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमकी अध्यक्षता गर्दै मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले जलवायु परिवर्तनका कारण मेलम्ची क्षेत्रले भोग्नुपरेको प्राकृतिक विपद्को चर्चा गर्नुभयो। उहाँले यस्ता परियोजनाहरूले स्थानीयस्तरमा अनुकूलन क्षमता बढाउन र ऊर्जामा पहुँच पु¥याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । स्थानिय आवश्यकताको पहिचान गरेर काम गर्नुपर्ने उहाँले बताउनुभयो । साथै दिगोपनाका लागि स्थानियलाई अपनत्व गराई काम गर्न सुझाव दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनालले समुदायस्तरमा जलवायु उत्थानशिलताका कार्यहरू पु¥याउनुपर्नेमा जोड दिनुभयो। परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि वडा कार्यालयले आवश्यक प्रशासनिक सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत निमेष मिश्र, विभिन्न शाखा प्रमुखहरू, वडा सदस्यहरू, गैर–सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

’बिकन’ परियोजनाले मुख्यत जलवायु परिवर्तनको असर कम गर्न स्थानीय सरकार र समुदायलाई सक्षम बनाउने लक्ष्य लिएको छ । ऊर्जाका वैकल्पिक र दिगो स्रोतहरूको प्रयोगमा जोड दिनेछ। स्थानीय र राष्ट्रिय कार्यहरूबीच समन्वय गरी जलवायु कार्ययोजनालाई प्रभावकारी बनाउने परीयोजनाको लक्ष्य रहेको छ । आयोजक संस्था प्रकृति रिसोर्सेस सेन्टरका प्रतिनिधिहरूले परियोजनाको उद्देश्य, कार्यक्षेत्र र आगामी योजनाबारे सहभागीहरूलाई जानकारी गराउनुभएको थियो। सहभागीहरूले जलवायु परिवर्तनका कारण कृषि र खानेपानीमा परेको असरलाई सम्बोधन गर्न माग गरेका छन्।

Leave a Reply