सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ मा निर्माणधिन भोटेकोशी–१ जलविद्युत आयोजनाको सुरुङ ब्रेकथ्रु भएको छ । करिब ८ अर्ब रुपैयाँ लगानीमा निर्माणाधीन यस आयोजनाको २ हजार ३ सय ३८ मिटर लामो सुरुङको ‘ब्रेकथ्रु’ कार्य सम्पन्न भएको हो ।
४४ मेगावाट क्षमताको आयोजना ईलेक्ट्रो पावर कम्पनी लि.ले निर्माण गरिरहेको छ ।
सोमबार आयोजना स्थलमा एक कार्यक्रमका बिच, जिल्ला समन्वय प्रमुख बालकृष्ण श्रेष्ठ र भोटेकोशी गाउँपालिका अध्यक्ष पासाङ नुर्वु शेर्पाले संयुक्त रूपमा स्विच अन गरेर सुरुङको ‘ब्रेकथ्रु’ गरेका थिए ।
स्थानीय तहका प्रतिनिधिहरूले आयोजना सञ्चालनमा आउँदा रोजगारी, सडक र पूर्वाधार सुधार तथा स्थानीय अर्थतन्त्रमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन् ।
आगामी सात महिनाभित्र उत्पादन गरिने विद्युत केन्द्रीय प्रसारण लाइनमा जडान गर्ने तयारी गरेको कम्पनीले जनाएको छ । यस आयोजनाबाट राष्ट्रिय ग्रिडमा थप विद्युत आपूर्ति हुने भएकाले ऊर्जा क्षेत्रमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।