नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा देशभरै, विशेषगरी सहरी क्षेत्रमा, तीज मनाउने तयारी र उत्साह बढेको छ । दिदीबहिनीहरू दर खाने, शुभकामना आदान–प्रदान गर्ने र नाचगानमा रमाउने माहोल देखिएको छ ।
यसै क्रममा, नेकपा (एमाले) हेलम्बु गाउँपालिका कमिटीले बिहीबार चनौटामा तीजको अवसरमा दर खाने तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । पालिका कमिटीकी सदस्य तथा महिला विभाग प्रमुख शान्ति लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश कमिटी उपसचिव भक्तकुमारी लामा प्रमुख अतिथि रहनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामाले नेपाली नारीहरूले भोग्दै आएको सुख-दुःख, पीडा, आँसु र खुशीलाई गीत मार्फत व्यक्त गर्ने पर्व तीजलाई विकृति मुक्त बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले “पर्वका नाममा हुने सबै खाले विकृति हटाएर सकारात्मक पक्षलाई संस्कारका रुपमा विकसित गर्नुपर्छ” भन्नुभयो ।
त्यस्तै, नेकपा एमाले वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य बालकृष्ण देउजाले महिलामाथि हुने हिंसात्मक घटनाप्रति समाजलाई सचेत हुनुपर्ने उल्लेख गर्दै पार्टीले सकारात्मक सामाजिक परिवर्तनमार्फत समुन्नत समाज निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा पूर्व संविधानसभा सदस्य डोल्मा तामाङले तीजले सांस्कृतिक संरक्षण र सामाजिक एकता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै परम्परागत चाडलाई भव्यताका साथ मनाउन आग्रह गर्नुभयो ।
मेलम्ची नगरपालिका उपप्रमुख तथा प्रदेश कमिटी सदस्य उमा प्रधानले तीजले महिला सशक्तिकरण, आपसी सद्भाव र संस्कृतिको जगेर्नामा योगदान पुर्याउने बताउँदै यसलाई केवल मनोरञ्जनको रुपमा नभई सामाजिक परिवर्तनको आधार बनाउनुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्यहरू दावा लामा हेल्मो, गंगा अर्याल, सुनिता पराजुली, पालिका कमिटी अध्यक्ष सरोज गजुरेल, जिल्ला कमिटी सदस्य गंगा भण्डारी, लेखा आयोग उपाध्यक्ष गोमा खड्का, नेता रामशरण गिरी, राजेन्द्र लामिछाने, सोम तामाङलगायत नेताहरूको उपस्थिति थियो ।
सोही अवसरमा गोमा खड्काको अध्यक्षतामा २० सदस्यीय पालिका स्तरीय अनेमसङ्घ गठन गरिएको छ । जसको उपाध्यक्षमा विनिता भण्डारी, सचिवमा तारा बस्नेत र उपसचिवमा मीना आचार्य चयन भएको नेतृ गंगा अर्यालले जानकारी दिनुभयो ।