महिला सङ्घ इन्द्रावतीद्वारा आयोजित तिज बिशेष कार्यक्रम सम्पन्न

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।
नेपाल महिला सङ्घ इन्द्रावती गाउँपालिकाको आयोजनामा तीज विशेष कार्यक्रम नवलपुरमा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य सीता मिजारको प्रमुख आतिथ्यता तथा महिला सङ्घका गाउँपालिका सभापति तारा माझीको सभापतित्वमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

प्रमुख अतिथि मिजारले कार्यक्रममा आफ्नो मन्तव्य राख्दै तीज पर्व शिव र पार्वती भगवानसँग जोडिएको पर्व भएको बताउनुभयो । साथै शिव र पार्वती जस्तो बन्ने नभई असल भन्ने सोचेर अघि बढ्न सबै महिला दिदीबहिनीहरूमा आग्रह गर्नुभयो । साथै उहाँले महिलाहरूले जन्मिने बित्तिकै देखि पुरुष सरह नै अधिकार लिएर जन्मिएको हुने बताउँदै आफ्नो कर्तव्य पूरा गर्न पनि पछि पर्न नहुने धारणा राख्नुभयो । महिलाको अधिकार संविधान तह सुनिश्चित भएको बताउँदै कसैले कटौती गर्न नसक्ने बताउनुभयो । महिलाले पनि अवसर पाए हरेक क्षेत्रमा गरेर देखाएको बताउँदै महिलाले नेतृत्व गरेका स्थानीय तहहरुमा भ्रष्टाचार र बेरुजु कम भएको र मितव्ययी ढंगले सरकार सञ्चालन गरेको उदाहरणहरू प्रशस्तै रहेको बताउनुभयो ।

साथै आफ्नो राजनैतिक जीवनबारे बताउँदै आन्दोलन र संघर्षको जगमा अहिले आफू प्रतिनिधि सभा सदस्य हुन सफल भएको बताउनुभयो । त्यस्तै उद्यमी बन्न चाहने महिलाहरूका लागि सहयोग गर्न तयार रहेको बताउँदै महिला तथा बालबालिका क्षेत्रमा रहेको बजेट इन्द्रावती गाउँपालिकामा ल्याउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमका विशेष अतिथि इन्द्रावती गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा महाधिवेशन प्रतिनिधि बंशलाल तामाङले निराहार व्रत बसेर श्रीमानको आयु बढ्छ भन्ने आस्था राख्ने नेपाल मात्रै देश रहेको बताउँदै महिला समाजको शक्ति भएको धारणा राख्नुभयो । बालबालिकाको पहिलो गुरुआमा महिला भएको बताउँदै भोलिको कर्णाधारलाई कसरी अघि बढाउने भन्ने महिलाको हातमा रहेको बताउनुभयो । महिला शक्तिको प्रतीक भएको बताउँदै देश्को सपुतलाई जन्म दिने ठूलो शक्ति महिला बाहेकअरूमा नभएको बताउनुभयो । छोटो समयमा यति ठूलो कार्यक्रम गर्न सफल भएकोमा महिला सङ्घप्रति आभार व्यक्त गर्दै यसमा सहयोग गर्ने सम्पूर्ण भातृसंस्थाहरु तथा पार्टीका सहयोगी मनहरूमा धन्यवाद व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव बिल बहादुर तामाङले पार्टिमा संघर्ष गरेकाहरुलाई अवसर दिनुपर्ने धारणा राख्नुभयो । अवसरवादिलाई अवसर दिँदा पार्टीको शाख खस्किने बताउँदै यसमा ध्यान दिन जरुरी रहेको उहाँको भनाइ थियो ।
नेपाल महिला सङ्घले पालिकामा संगठनलाई अझ मजबुत बनाउने बिश्वास व्यक्त गर्दै लोकतन्त्रलाई बलियो बनाउन महिलाको भूमिका शशक्त हुन जरुरी रहेको पनि उहाँले बताउनुभयो । कार्यक्रम आयोजना प्रती आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमले महिलाहरूमा थप उर्जा र क्षमतावान बनाउ सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि महिला संघका केन्द्रिय समिती सदस्य रन्जिता गिरिले महिलाहरु पनि पुरुष भन्दा केही कुरामा कमी नभएको बताउनुभयो । तीज आपसी एकता प्रेम सद्भावको पर्व भएकोले सबै एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

नेपाल तामाङ संघ सिन्धुपाल्चोकका अध्यक्ष क्षेत्र तामाङले इन्द्रावतीमा महिला संघले आँट गरेर यो कार्यक्रम आयोजना गर्नुले यहाँका महिलाहरू सक्रिय रहेको देखाएको बताउनुभयो । आगामी दिनमा महिला हक अधिकार सुनिश्चित गर्न अग्रज नेताहरु लाग्ने अपेक्षा गर्नुभयो । यस्ता कार्यक्रमले महिला एकता र हक अधिकार संगै धार्मिक र संस्कृति जोगिने उहाँले बताउनुभयो ।

संघका उपाध्यक्ष अष्ठमाया तामाङले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा इन्द्रावती गाउँपालिकाका सभापति जीवन कुमार थापा मगर, महिला बिभाग प्रमुख चित्र कुमारी खोखाली, नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य सजिना श्रेष्ठ, महाधिवेशन प्रतिनिधि श्री लामा, भुतपुर्व शैनिक संघ मनिलोचन लगायतका वक्ताहरूले आफ्नो हक र अधिकारका लागि एकजुट भएर लाग्नुपर्ने बताउँदै तीजको शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply