काठमाडौँ ।
सिन्धुपाल्चोक जिल्लाका तीन प्रमुख सडकलाई बहुवर्षीय योजना अन्तर्गत निर्माण गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरिएको छ । पूर्वमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेलाई ज्ञापनपत्र बुझाउँदै सडक योजना छिटो कार्यान्वयन गर्न आग्रह गरिएको हो ।
प्रतिनिधिमण्डलले मेलम्चीमा आयोजित भेटवार्तामा तीनवटै सडक योजनाहरूलाई चालु आर्थिक वर्षमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिंदै बहुवर्षीय टेन्डर प्रक्रिया तत्काल अगाडि बढाउन अनुरोध गरेको थियो ।
कार्यकारी निर्देशक लामिछानेले यसबारे छिट्टै मेलम्ची खानेपानी बोर्डको बैठक बोलाएर आवश्यक प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
बहुवर्षीय योजनामा अघि बढाइएका सडकहरूमा मेलम्ची–हेलम्बु–सिन्धुपाल्चोक सडक हाल २६ करोड ९० लाखको बजेटलाई बहुवर्षीय योजना अन्तर्गत १ अर्ब ७ करोड ६० लाख रुपैयाँमा रूपान्तरण गरी टेन्डर प्रक्रिया अगाडि बढाइनेछ । त्यस्तै मेलम्ची–थाङपालधाप–थाङपालकोट–भोताङ–लार्के सडक चालु वर्षमा ६ करोड विनियोजन भएको बजेटलाई २४ करोड रुपैयाँको बहुवर्षीय टेन्डरमा समावेश गरिनेछ । यता फट्टै–दाउचेत–केउरिनी–बाँसखर्क–बरुवा–बोलगाउँ–याङ्री सडक प्रारम्भिक ४ करोड बजेट रहेको यो सडकलाई १६ करोड रुपैयाँको बहुवर्षीय योजना अन्तर्गत निर्माण गरिनेछ ।
