
नवलपुर ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले खेलकुद क्षेत्रको विकास बिना अरु क्षेत्र समृद्ध हुन नसक्ने बताउनुभएको छ । गाउँपालिका स्तरीय चौथो अध्यक्ष कप रनिङसिल्ड प्रतियोगिताको समापन कार्यक्रममा आफ्नो भनाइ राख्दै अध्यक्ष नेपालले उक्त कुरा राख्नुभएको हो ।
खेलकुद क्षेत्रको विकासका लागि बजेट पर्याप्त मात्रामा आवश्यक पर्ने बताउँदै आगामी नीति तथा कार्यक्रम निर्माणको संघारमा रहेकोले आउने नीति तथा कार्यक्रममा खेलकुदलाई प्रथमिकतामा राखेर बजेट निर्माण गर्ने बताउनुभयो । साथै विगतका प्रतियोगिताहरूको दाँजोमा यस वर्षको प्रतियोगिता सफल भएको बताउँदै अनुशासित र मर्यादित खेल सञ्चालन गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । असफलतानै सफलताको प्रतीक भएको बताउँदै उपाधि जित्न प्रयास गर्नेले एकदिन अवश्य पनि सफलता हात पार्ने भएकोले अझै मेहनत गर्न आग्रह गर्दैसबै वडाका खेलाडीहरूलाई सहभागिताको लागि धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शोभाना तामाङले रोमाञ्चक खेल अनुशासित ढङ्गले प्रस्तुत गरेकोमा खेलाडीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । आगामी खेलहरुमा पनि अनुशासित र मर्यादित ढंगले खेलमा सहभागी हुन आह्वान गर्नुभयो । साथै खेलर्ले अन्तर्राष्ट्रिय स्तरमा समेत देश र ठाउँको नाम उच्च राख्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा प्रतियोगिताका संयोजक सशीनाथ आचार्यले विगतका खेलहरूमा भएका विभिन्न गतिविधिहरू को संसयलाई चिर्दै सौहार्द र शान्तिपूर्ण ढङ्गबाट यस वर्षको प्रतियोगिता सम्पन्न गर्न साथ र सहयोग पु¥याउने सबै क्षेत्रका व्यक्ति व्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । खेलाडीहरूलाई प्रदेश र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर सम्मै खेल्न सक्ने गरी मेहनत गर्न सुझाव दिनुभयो । इन्द्रावतीमा हुने हरेक प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन चुनौती पूर्ण हुन्छ भन्ने भाष्यलाई चिर्दै यस वर्ष सफलतापूर्वक प्रतियोगिता सम्पन्न भएको बताउनुभयो । यस प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सफल भएकोमा गाउँपालिका उत्साहित भएको र आगामी दिनमा गाउँपालिकामा खेलकुद गतिविधिहरु बढाउने साथै खेलाडीहरूको सीप र क्षमता विकासको लागि कार्यक्रम ल्याउने उहाँको भनाइ थियो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा यसको श्रेय सबै क्षेत्रबाट सहयोग गर्नेहरुलाई जाने धारणा राख्नुभयो ।

प्रतियोगिता सञ्चालन समितिका सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले स्वागत मन्तव्य राख्दै यस प्रतियोगिता इन्द्रावतीमा पनि विवादरहित ढंगले प्रतियोगिता सम्पन्न गराउन सकिन्छ भन्ने एक उदाहरण भएको बताउनुभयो । साथै अनुशासित र मर्यादित ढंगले प्रतियोगिता सञ्चालनको लागि सहयोग गर्ने सबै खेलाडी हरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।
आज सम्पन्न प्रतियोगितामा वडा नम्बर १० लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर ९ ले उपाधि हात पारेको छ ।


