११ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१ जिल्ला सदरमुकाम चौतारामा सम्पन्न भएको छ ।
जिल्ला खेलकुद विकास समिति सिन्धुपाल्चोकको आयोजनामा भएको प्रतियोगितामा चौतारा साँगाचोकगढी नगरपालिका पहिलो भएको छ ।
चौताराले ३० स्वर्ण २० रजत र ७ कास्य पदक सहित कुल ५७ पदक सहित रनिङ शिल्ड जितेको हो । १० स्वर्ण, ८ रजत र ८ कास्य सहित २६ पदक जितेको बाह्रविसे नगरपालिका दोस्रो स्थान ओगटेको छ भने तेस्रो स्थानमा रहेको भेटेकोशी गाउँपालिकाले ७ स्वर्ण, १० रजत र ८ कास्य सहित २५ पदक हात पारेको छ । त्यस्तै ७ स्वर्ण, १० रजत र २ कास्य सहित १९ पदक जितेको हेलम्बु गाउँपालिका चौथो स्थानमा छ ।
त्यस्तै मेलम्ची नगरपालिकाले ३ स्वर्ण, ८ रजत र १० कास्य, बलेफीले ३ स्वर्ण, ५ रजत र ५ कास्य, जुगल गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र ६ कास्य र इन्द्रावती गाउँपालिकाले ३ स्वर्ण, ३ रजत र ५ कास्य पदक जितेको छ ।
जिल्लाका आठ स्थानीय तहहरू सहभागी प्रतियोगितामा कराते, तेक्वान्दो, एथलेटिक्स, कबड्डी, भलिबल र उसु विधाका खेलहरुमा प्रतिस्पर्धा भएको थियो ।
आयोजक समितिका अनुसार प्रतियोगिताबाट जिल्लाभरका खेलाडीहरूबीचको आपसी सम्बन्ध, खेलकुदको स्तर वृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास लिइएको छ ।