ज्यामिरेमा मन्टेश्वरी तालिम आजबाट सुरु

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक


ज्यामिरे ।

मेलम्ची नगरपालिका वडा नं. ९ ज्यामिरेमा शिक्षकको पेसागत क्षमता विकास सम्बन्धी एक हप्ते आधारभूत मन्टेश्वरी तालिम आजबाट सुरु भएको छ ।

वडा शिक्षा समितिको आयोजनामा श्री जनता माध्यमिक विद्यालयमा शुरु गरिएको उक्त तालिमको नगर प्रमुख आइतमान तामाङले उद्घाटन गर्नुभयो । तालिम उद्घाटन गर्दै प्रमुख अतिथि तामाङले यस तालिमले शिक्षकहरु सक्षम, दक्ष र योग्य भइ बालबालिकाको सिकाइ उपलब्धि वृद्वि हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रमका विशेष अतिथि शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख सुधिनराज बुढाथोकीले मन्टेश्वरी शिक्षणको दक्षता हासिल गरी बालबालिकाहरु उपयुक्त सिकाइ वातावरणमा रमाई सिक्ने वातावरण सिर्जना हुँदा गुण्स्तरीय शिक्षा प्रवर्द्वनमा मद्दत पुग्ने अपेक्षा राख्नुभयो । तालिममा सिकेका कुरा व्यवहारिक प्रयोगमा जोड दिदैं शिक्षा अधिकृत बुढाथोकीले बालबालिकाको सिकाइ उपलब्धि बढाउन कक्षाकोठामा रमाएर सिक्ने वातावरणको खाँचो रहेको औंल्याउनुभयो ।

कार्यवाहक वडा अध्यक्ष सरिता पराजुलीले प्रारम्भिक बाल विकास शिक्षाको जग भएकोले बलियो बनाउन शिक्षकहरुलाई आग्रह गर्दै तालिम सफलताको शुभकामना दिनुभयो । उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य सातकन्या माविका प्रधानाध्यापक जनक अधिकारीले राख्नु भयो ।तालिमको सहजीकरण चाइल्ड डेभलपमेन्ट मन्टेश्वरी ट्रेनिङ एण्ड एजुकेसन सेन्टर प्रालिकी संस्थापक अध्यक्ष अनिता पाण्डेले गर्नु भएको छ ।

तालिममा यस वडा भित्रका ६ वटा सामुदायिक विद्यालयमा कार्यरत बाल विकास सहजकर्ता, शिक्षक र प्रधानाध्यापकहरुको गरी २० जनाको सहभागिता रहेको छ । वडा शिक्षा समितिका सदस्य सचिव एवम् जनता माविका प्रधानाध्यापक केदार विष्टको अध्यक्षतामा र गोल्मेश्वरी आधारभूत विद्यालयका शिक्षक पाण्डब अधिकारीले संचालन गर्नुभएको थियो । आजदेखि सुरु भएको यो तालिम १६ गतेसम्म चल्ने छ ।

Leave a Reply