चौतारा ।
रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सिन्धुपाल्चोक जिल्ला सभापतिमा माया गुरुङ चयन हुनुभएको छ । शनिबार चौतारामा भएको पार्टीको जिल्ला भेलाले हसभापतिमा गुरुङलाई चयन गरेको हो ।
पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यमामा सम्पन्न भएको भेलाले उपसभापतिमा पासाङ तामाङ र सचिवमा चक्रपाणी सिग्देललाई चयन गरेको छ । तीन जना पदाधिकारी सहित जिल्लाका सबै स्थानीय तहका कमिटी सभापति पदेन सदस्य रहने पार्टीको विधान अनुसार तीन जना पदाधिकारी चयन गरिएको सचिव सिग्देलले जानकारी दिनुभयो ।
जिल्ला अध्यक्षमा चयन हुनुभएका गुरुङले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीको तर्फबाट सिन्धुपाल्चोक प्रतिनिधिसभा २ मा उम्मेदवारी दिने घोषणा समेत गरिसक्नुभएको छ ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाकी गुरुङ सगरमाथा आरोही का साथै विश्वका सात वटै महादेशका उच्च हिमाल आरोहण गरेर किर्तिमान समेत कायम गरिसकेकी उहाँ सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् । विपन्न परिवारका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गर्न, महिलालाई हिमाल गाइड तालिम प्रदान गर्न तथा प्रशिक्षण केन्द्र समेत सञ्चालन गर्नुभएको छ ।
जिल्ला भेलामा प्रमुख अतिथि रवि लामिछानेले देशलाई अहिले ठूला भनिएका दलहरूले बर्बाद बनाएको र अब देशलाई जोगाउन सबै जनताले आफ्नो मत परिवर्तन गर्नुपर्ने बताउनुभयो । आफ्नो आस्था रहेको दल परिवर्तन नगरिकनै पनि मत मात्रै परिवर्तन गर्दा पनि देशमा ठुलो परिवर्तन आउने उहाँँले बताउनुभयो । पुराना पुस्ताका नेता र पुराना दलहरूबाट अब कुनै परिवर्तनको आश गर्न नसकिने भन्दै लामिछानेले सबै मतदाताले आफ्नो आवद्धता रहेका दलहरूलाई सचेत गराउन पनि आफ्नो मत परिवर्तन गर्नैपर्ने बताउनुभयो ।
कार्यक्रममा हजारौं दर्शकको उपस्थिति रहेको थियो ।