बन्देउबाट चीनको सीमासम्म सडक बनाउन चार अर्ब ४६ कराेड प्रस्ताव

* # समाचार समाज सिन्धुपाल्चोक

रामकृष्ण थापा

अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक खण्ड मर्मत तथा स्तराेन्नति गर्न सडक डिभिजन कार्यालय चरिकोटले चार अर्ब ४६ कराेड रुपैयाँ प्रस्ताव गरेकाे छ ।


मर्मत तथा स्तराेन्नतिका लागि आवश्यक रकम र जनशक्तिबारे प्रस्तावित फाइल राष्ट्रिय याेजना आयाेगमा पेश भएको हाे। सडक डिभिजन चरिकोट प्रमुख अमितकुमार श्रेष्ठलका अनुसार मन्त्रिपरिषद बैठकले राष्ट्रिय याेजना आयाेगकाे म्याद थप्ने निर्णय गरेपछि फाइल सदर हुने सम्भावना छ ।

मंसिर मसान्तसम्म राष्ट्रिय याेजना आयाेगले फाइल सदर गर्नुपर्ने थियाे । तर, भएन, उहाँले भन्नुभयो “मन्त्रिपरिषद् बाट आयाेगकाे म्याद थप भएपछि सहमति प्राप्त हुन्छ । त्यसपछि अर्थ मन्त्रालयले वजेट विनियोजन गर्नुपर्छ । बन्देउ बाह्रबिसे २८ किलोमिटर सडक मर्मतका लागि ५० कराेड, बाह्रबिसेबाट चीनकाे सीमा लिपिङसम्म २६.५ किलोमिटर सडक स्तराेन्नति गर्न दुई अर्ब ५३ कराेड ५२ लाख र बन्देउदेखि तातोपानीसम्म रहेका १० ठूला पहिराे राेकथाम र मर्मत गर्न एक अर्ब प्रस्ताव गरिएको छ” ।

सडक डिभिजन चरिकोटका सूचना अधिकारी सुरज महर्जनले दिएको जानकारी अनुसार बन्देउदेखि बाह्रबिसेसम्म सडक मर्मत गर्ने र बाह्रबिसेबाट लिपिङसम्म सडक स्तराेन्नति गर्ने याेजना प्रस्तावित फाइलमा छ । प्रस्ताव गरेअनुसार आइइ प्रतिवेदनमा काेदारी राजमार्ग भाैगाेलिक रुपमा जटिल भएको ठाउँ भएकोले दायाँबायाँ ३० मिटरमात्रै सडक क्षेत्राधिकार कायम गर्ने उल्लेख छ । बिगतमा ५० मिटर क्षेत्राधिकार ताेकिएकाे थियाे ।

सडक धेरै चाैँडा गर्ने भूगाेल नभएकोले हालका लागि बढीमा ९.४५ मिटर सडक निर्माण गर्ने प्रस्ताव गरिएको छ । सडककाे क्षेत्राधिकार घटाएर भाैगाेलिक अवस्था अनुसार सडक मर्मत तथा सतराेन्नति गर्दा स्थानीय पनि खुसी हुने बाह्रबिसे निवासी भिमप्रसाद पराजुलीले बताउनुभयो । सुकुटे, बलेफी, काेठे, लामाेसाँघु, बाह्रबिसे , तातोपानी लगायतका स्थानीयले सडककाे क्षेत्राधिकार घटाउने प्रस्तावप्रति खुसी प्रकट गरेका छन् । सडक किनारमा बसाेबास गर्ने स्थानीयकाे सहमतिमा सडक स्तराेन्नति गरिने डिभिजन कार्यालयले बताएको छ । असाेज १२ गते गएको पहिराेले अरनिकाे राजमार्ग कतिपय स्थानमा अझै एकतर्फी सञ्चालनमा रहेकाे छ ।

काेदारी सडक जीर्ण
अन्तर्राष्ट्रिय मार्गकाे रुपमा परिचित काेदारी राजमार्ग जीर्ण छ । खासाबाट आउने ४० फुटे कन्टेनर तातोपानी भन्सार लार्चासम्म ल्याउन धाैधाै छ । भन्सारबाट छुटेका मालबाहक कन्टेनर बाह्रबिसेसम्म आइपुग्न घण्टाैँ लाग्छ । लिपिङखाेला र भाेटेकाेसी नदीमा अस्थायी रुपमा ह्युमपाइप राखेर गाडी आवतजावत गरिएको छ । जीर्ण सडकका कारण जतिबेला पनि सवारीसाधन दुर्घटनामा पर्ने जाेखिम छ ।

चीन सरकारकाे सहयोगमा पटकपटक सडक मर्मत भएपनि बाढीपहिरोले काेदारी राजमार्ग जीर्ण बनेकाे छ । सरकारले बर्खाअघि नै पुल निर्माण गरेर सडककाे स्तराेन्नति नगरे तातोपानी नाका बन्द हुने जाेखिम उत्तिकै छ । बाह्रबिसेबाट तातोपानीसम्म रहेका ठूला पहिराे राेकथाम तत्काल नगरे काेदारी राजमार्गमा बढी क्षति पुग्ने अवस्था छ ।

Leave a Reply